close

माइक्रोसफ्ट वानड्राइभ भर्सेस गुगल ड्राइभ : तपाईंकाे राेजाई कुन ?

टेकपाना टेकपाना

चैत १७, २०७७ १३:३१

माइक्रोसफ्ट वानड्राइभ भर्सेस गुगल ड्राइभ : तपाईंकाे राेजाई कुन ?

काठमाडौं । विगतमा ठूला ठूला सर्भर रुमहरु व्यवस्थित गर्न कम्पनीहरुलाई निकै कठिन हुन्थ्यो । तर आजभोलि बिजनेस डेटालाई सात समुद्रपारी रहेका सर्भरहरुमा राखेर समेत एक्सेस गर्न सकिन्छ ।

ती डेडिकेटेड डेटा सेन्टरहरु इन्टरनेटमा कनेक्ट हुन्छन् । आधुनिक व्यवसायिक गृहरुलाई आफ्नो डेटा सजिलो र सुलभ मूल्यमा व्यवस्थापन गर्न यीनले मद्दत गर्छन् ।

आज धेरै कम्पनीहरुले व्यवसायिक गृहहरुलाई क्लाउड स्टोरेज सेवा प्रदान गर्दछन् । यी सबै कम्पनीको सेवा स्टोरेज स्पेस, डेटा इन्क्रिप्सन र सर्भर पूर्वाधारका आधारमा फरक छन् । क्लाउड स्टोरेजको उद्योगमा गुगल र माइक्रोसफ्ट दुई ठूला खेलाडीहरु हुन् ।

आज हामी तपाईंहरुलाई गुगल ड्राइभ र माइक्रोसफ्टको वान ड्राइभबीच कुन उत्कृष्ट क्लाउड स्टोरेज सफ्टवेयर प्रदायक हो भनेर बताउँदै छौं । यी दुवै क्लाउड सर्भिस स्टोरेजका फिचर, पर्फमेन्स, सपोर्ट र मूल्यका बारेमा बताउने छौं । 

फिचर

गुगल ड्राइभ एउटा क्लाउडमा आधारित स्टोरेज प्लेटफर्म हो । यसले विभिन्न व्यवसायिक गृहहरुका लागि सेवा प्रदान गर्दछ । यसले फाइल शेयरिङ तथा सिङ्क्रोनाइज फिचर प्रदान गर्दछ । जसबाट गुगल वर्कस्पेसभर विभिन्न किसिमका दस्तावेज बनाउन, व्यवस्थापन गर्न तथा शेयर गर्न सकिन्छ । वास्तवमा यो गुगल वर्कस्पेसको मुटु नै हो ।

गुगल ड्राइभले डाउनलोड गर्न सकिने क्लाइन्ट पनि अफर गर्दछ, जसबाट तपाईंको डेस्कटपको विशेष फोल्डरलाई सिङ्क्रोनाइज गर्न सकिन्छ । साथै अफलाइन एक्सेसका लागि तपाईंले क्लाउड स्टोरेज भरीका फाइललाई डेस्कटपमा सिङ्क गर्न सक्नुहुन्छ ।

इन्टरनेट एक्सेस कमजोर भएका ठाउँतिर यो निकै उपयोगी हुन्छ । ड्राइभ एउटा मल्टी प्लेटफर्म सर्भिस हो, जुन स्मार्टफोन, ट्याब्लेट, ल्यापटप तथा डेस्कटपहरुमा डाउनलोड गर्न मिल्ने एपको रुपमा समेत उपलब्ध छ । यी सबै डिभाइसमा फाइललाई अगाडि-पछाडि सिङ्क गर्न सकिन्छ ।

गुगल ड्राइभ पनि माइक्रोसफ्टको वान ड्राइभजत्तिकै उपयाेगी छ । तर माइक्रोसफ्टको वर्ड, एक्सल र पावरपोइन्ट जस्ता प्रोग्राम प्रयोग गर्नेहरुका लागि गुगल ड्राइभको सट्टा वान ड्राइभ नै प्रयोग गर्न सजिलो हुन्छ ।

वान ड्राइभको कुरा गर्दा यसमा पनि गुगल ड्राइभको जस्तै फाइल सिङ्क्रोनाइज र कोल्याबाेरेसन फिचर छन् । तर यो धेरैजसो माइक्रोसफ्ट अफिसकै प्रडक्टहरुसँग काम गर्न डिजाइन भएको हो । म्याक तथा विण्डोज ओएसका लागि यसको डाउनलोड गर्न मिल्ने एप पनि छ ।

यो गुगल वर्कस्पेसभन्दा फरक छ । यसको एप्लिकेसनलाई डेस्कटप कम्प्युटरमा वेब ब्राउजर विण्डोबाट एक्सेस गर्न सकिन्छ ।

माइक्रोसफ्ट वान ड्राइभले पनि रियल टाइम कोल्याबाेरेसन फिचर प्रदान गर्दछ, जसले गुगल ड्राइभले जस्तै गरी काम गर्दछ । प्रयोगकर्ताहरुको डकुमेन्ट विभिन्न डिभाइससँग रियल टाइममै सिङ्क हुन्छ । साथै एकैपटक धेरैजना प्रयोगकर्ताहरुसँग कुनै पनि परियोजनामा कोलाबाेरेट समेत गर्न सकिन्छ ।

अन्त्यमा गुगल ड्राइभ र माइक्रोसफ्ट वान ड्राइभ दुवैले क्लाउड स्टोरेज प्लेटफर्मभरी उस्तै किसिमका फिचर प्रदान गर्दछ । सुरक्षाको मामिलामा पनि यी दुबैको सेवा उस्तै छन् । दुबैमा टु फ्याक्टर अथेन्टिकेसन पाउन सकिन्छ भने यी दुवै प्लेटफर्मबीच फायल शेयरिङ अप्सन छैन । 

पर्फमेन्स 

पर्फमेन्स र स्पिडको मामलामा गुगल ड्राइभ र माइक्रोसफ्ट वान ड्राइभ दुवैको सिस्टम उस्तै छ । दुवैले डाउनलोड गर्न मिल्ने क्लाइन्ट उपलब्ध गराउँछन्, जसलाई प्रयोग गरेर कम्प्युटरको विशेष फोल्डरलाई क्लाउडसँग सिङ्क गर्न सकिन्छ ।

यी दुवैको स्मार्टफोन र ट्याब्लेटमा डाउनलोड गर्न मिल्ने किसिमका एप पनि छन् । यी क्लाइन्ट र एप्लिकेसन दुवै एकदमै हलुका छन् । दुवैमा स्टोरेज र प्रोसेसिङ रिक्वायरमेन्ट आवश्यक छैन ।

तर यहाँ एउटा याद गर्नुपर्ने कुरा के छ भने माइक्रोसफ्ट अफिस एउटा ठूलो अफलाइन प्रोडक्टिभिटी स्यूट सफ्टवेयर हो जुन तपाईंको कम्प्युटरको हार्ड ड्राइभमा इन्स्टल हुन आवश्यक छ । गुगल वर्कस्पेसको तुलनामा यसले धेरै संसाधन खपत गर्दछ । यीनका एप्लिकेसनहरु अनलाइन आधारित छन् र यो तपाईंको मनपर्ने वेब ब्राउजरमा पनि उपलब्ध छ । 

सपोर्ट

गुगल ड्राइभमा अत्याधुनिक र बहुभाषिक सपोर्ट सिस्टम छ, जुन फोन, च्याट वा ईमेलको माध्यमबाट जोडिन सक्छ । तपाईंले यो कसरी प्रयोग गर्न सुरु गर्ने भनी सिक्नलाई नलेज सेन्टरमा पनि एक्सेस गर्न सक्नुहुन्छ । यसबाहेक एउटा कम्युनिटी फोरम पनि छ, जहाँ तपाईंले गुगलका कर्मचारी तथा सदस्यहरुलाईसँग प्रश्न सोध्न सक्नुहुन्छ ।

कम्युनिटी सपोर्टमा प्रतिक्रिया दिने आफ्नै मौलिक समय एउटा ‘बिजनेस डे’भन्दा कम हुन्छ । गुगल वर्कस्पेसमा सशुल्क सब्सक्रिप्सन छ भने प्रतिक्षा अवधि अझै घटाउन सकिन्छ ।

माइक्रोसफ्टको वान ड्राइभ सपोर्टमा कम्पनी वेबसाइटबाट सम्पर्क गर्न सकिन्छ । वा कम्युनिटी फोरम, च्याटबोट, वा अन्य सामान्य सपोर्ट हटलाइनबाट समेत जोडिन सकिन्छ । यहाँ लाइन लामो हुने भएका कारण तपाईंले केही समय प्रतिक्षा गर्नपर्ने हुनसक्छ । यदि तपाईं सशुल्क सब्सक्राइबर हुनुहुन्छ भने तपाईंका प्रश्नहरु चाँडै सम्बोधन हुने निश्चित छ ।

यस्तो किसिमको कम्युनिटी फोरम एकदमै सक्रिय हुन्छ र कम्पनीको कस्टमर सर्भिस टिमका सदस्यहरु यहाँ निरन्तर खटिरहेका हुन्छन् ।

यस्तै सेवाको मामलामा गुगल ड्राइभ सधैं माइक्रोसफ्ट वान ड्राइभभन्दा माथि छ । किनभने यसमा टायर आधारित सपोर्ट सिस्टम र तीव्र प्रतिक्रियाको सुविधा छ । तर सेवाको हकमा दुवै क्लाउड स्टोरेज सर्भिसले सेवाग्राहीहरुलाई चित्तबुझ्दो सेवा दिइरहेका छन् । 

मूल्य 

यदि तपाईं गुगल ड्राइभ प्रयोगकर्ता हुनुहुन्छ र निःशुल्क योजनालाई अपग्रेड गरेर लैजान चाहनुहुनछ भने गुगल वान वा गुगल वर्कस्पेसमा सब्सक्रिप्सन अपग्रेड गर्नुहोस् । यी दुवै सेवाबाट तपाईंको क्लाउड स्टोरेज एक्सपिरियन्सलाई बढाउन सकिन्छ । जति धेरै स्टोरेज स्पेस भयो, फिचर र प्रायोरिटी सपोर्ट पनि त्यति नै ज्यादा पाउन सकिन्छ । 

गुगल वान व्यक्तिगत प्रयोकगर्ताहरुका लागि अल इन वान सब्सक्रिप्सन सर्भिस हो । जसले जीमेल, गुगल फोटोज र गुगल ड्राइभ सबैतिरको स्पेस बढाइदिन्छ । यसका लागि २०० जीबी स्टोरेजका लागि प्रतिमहिना २.९९ डलर लागत लाग्छ भने दुई टेराबाइटका लागि प्रतिमहिना ९.९९ डलर लाग्दछ ।

यस्तै १० टीबीका लागि ९९.९९ डलर लाग्दछ भने २० टीबीका लागि १९९.९९ डलर लाग्दछ ।  यी प्रत्येक प्लानमा प्रिमियम सपोर्ट पाउन सकिन्छ । साथै तपाईंले आफ्नो परिवारका सदस्यसँग पनि यो सब्सक्रिप्सन बाँड्न सक्नुहुन्छ ।

अर्कोतिर गुगल वर्कस्पेस एउटा क्लाउड आधारित उत्पादकत्व बढाउने वर्कप्लेस प्लेटफर्म हो । यो विशेषगरी व्यवसायिक प्रयोगजनका लागि हो, जसमा जीमेल, ड्राइभ, मिट, च्याट, डक्स, सिट्स, स्लाइड्स र अन्य धेरै कुराहरु हुन्छन् । 

बिजनेस स्टार्टर प्लानका लागि प्रतिप्रयोगकर्ता सब्सक्रिप्सन शुल्क ६ डलरबाट सुरु हुन्छ । यस्तै इन्टरप्राइज स्ट्याण्डर्डमा प्रतिमहिना २० डलर शुल्क लाग्दछ ।

शुल्कको कुरामा आउँदा माइक्रोसफ्ट वान ड्राइभमा धेरै विकल्पहरु छन् । वानड्राइभ बेसिकमा पाँच जीबीसम्म निःशुल्क स्टोरेज पाउन सकिन्छ । यदि यसलाई अपग्रेड गर्ने हो भने प्रति महिना सय जीबीका लागि १.९९ मूल्य पर्दछ ।

यस्तै माइक्रोसफ्ट ३६५ को सब्सक्रिप्सनमा व्यक्तिगत प्रयोगकर्तालाई पनि कम्पनीले आफ्नो सम्पूर्ण प्रोडक्टिभिटी स्यूट प्रदान गर्दछ, जसमा मासिक ६.९९ डलरमा एक टीबी स्टोरेज पाउन सकिन्छ । यस्तै पाँच टीबी स्टोरेजका लागि मासिक ९.९९ डलर तिर्नुपर्छ ।

माइक्रोसफ्ट ३६५ बिजनेस स्ट्याण्डर्ड योजना पनि छ, जहाँ १५ डलर मासिकको प्रतियोजनालाई धेरै प्रयोगकर्ताले प्रयोग गर्न सक्छन् । यसमा स्टोरेज स्पेस भने १ टीबीको हुन्छ । 

यस्तै अन्तिममा वानड्राइभ फर विजनेस योजना रहेको छ । यसमा दुईवटा छुट्टा छुट्टै योजना छन् । जसले तपाईंको व्यवसायलाई कम्पनीको क्लाउड स्टोरेज सर्भिस एक्सेस गर्न त दिन्छ, तर उसको प्रोडक्टिभिटी प्लेटफर्म भने प्रयोग गर्ने सुविधा दिँदैन ।

१ टीबीका लागि प्रतिमहिना प्रयोगकर्ताले पाँच डलर भुक्तानी गर्नुपर्ने हुन्छ । यस्तै अनलिमिटेड स्टोरेजका लागि प्रयोगकर्ताले प्रति महिना १० डलर तिर्नुपर्ने हुन्छ । त्यति मूल्य तिर्दा सोही प्लानलाई असीमित प्रयोगकर्ताले प्रयोग गर्न सक्छन् । 

गुगल ड्राइभ भर्सेस माइक्रोसफ्ट वान ड्राइभ: अन्तिम फैसला 

गुगल ड्राइभ र माइक्रोसफ्ट वान ड्राइभबीच उत्कृष्ट कुन छ भन्ने कुराको कुनै स्पष्ट उत्तर छैन । यी सबै कुरा तपाईंको कम्पनीको वर्कफ्लो अनलाइनमा हुन्छ वा अफलाइनमा बढी हुन्छ, अनि कुन सफ्टवेयर इकोसिस्टम (गुगल वा माइक्रोसफ्ट) प्रयोग गर्नुहुन्छ भन्ने कुराले निर्धारण गर्दछ ।

तपाईंको काम वा व्यवसायको प्रकृति र कार्यशक्तिसँगको तपाईंको चिनजानले नै कुन सोलुसन उत्कृष्ट हुन्छ भन्ने कुरालाई निर्धारण गर्न सघाउ पुर्‍याउँछ । 

टम्स गाइडबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३