close

नयाँ वर्षमा नयाँ ल्यापटप किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

टेकपाना टेकपाना

बैशाख १, २०७८ १४:२४

नयाँ वर्षमा नयाँ ल्यापटप किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्


काठमाडौं । नयाँ वर्ष २०७८ सँगै नयाँ ल्यापटप खरिद गर्ने योजनामा हुनुहुन्छ भने पक्कै पनि यो लेख तपाईंका लागि उपयोगी हुनेछ । कुन ल्यापटप किन्ने, कस्ताे ल्यापटप किन्ने, कति रूपैयाँकाे ल्यापटप किन्ने लगायतका प्रश्व याे बेला तपाईंभित्रै आउने गर्छ ।

यस्ता दुविधा हल गरी उपयुक्त ल्यापटप खरिद गर्न सहयाेग पुगाेस् भनेर याे लेख तयार पारेका हाैं ।आज हामी त्यस किसिमको दुविधा अन्त्य गर्न सघाउने हिसाबले तपाईंलाई ल्यापटप खरिद गर्नुअघि थाहा पाउनुपर्ने केही खास कुराको विषयमा जानकारी दिँदै छौं । 

१. के का लागि ल्यापटप ?

सबैभन्दा पहिले तपाईं ल्यापटप के का लागि खरिद गर्दै हुनुहुन्छ भन्ने कुरामा स्पष्ट हुन जरुरी छ । यदि तपाईं अफिसको काम वा बालबालिकाको पढाइका लागि खरिद गर्दै हुनुहुन्छ भने धेरै महंगो ल्यापटपको आवश्यकता पर्दैन । 

थोरै स्टोरेज भएको कम पावर भएको हार्डवेयरबाट समेत काम चल्छ । यद्यपि गेमिङ वा एडिटिङ लगायतको कुनै अन्य प्रोफेसनल प्रयोगका लागि लिनुपर्ने छ भने ल्यापटप थोरै महंगो पर्न जान्छ । जसमा र्‍याम र स्टोरेज धेरै भएको लिनुपर्ने हुन्छ ।

२. कति खर्च गर्ने ?

यदि तपाईंलाई अफिसको काम, अनलाइन क्लासका लागि ल्यापटप खरिद गर्नुपर्ने छ भने ३५ देखि ५० हजार रुपैयाँको रेञ्जमा राम्रै ल्यापटप पाउन सकिन्छ । तर सस्तोभन्दा दुई/चार हजार खर्च गरेर राम्रो ल्यापटप खरिद गर्ने कुरामा कञ्जस्याई भने सकेसम्म नगरेकै राम्रो ।

किनभने ल्यापटप जस्ता उपकरण सितिमिति छोटो अन्तरालमा खरिद नगरिने भएका कारण पछिल्लो प्रविधियुक्त ल्यापटप खरिद गर्नु नै बुद्धिमानी हुन्छ ।

३. प्रोसेसर र र्‍याम

नयाँ ल्यापटप खरिद गर्दाको समयमा कमसेकम आई फाइभ दशौं पुस्ताको प्रोसेसर वा त्यसभन्दा पनि लेटेस्ट प्रोसेसर होस् भन्नेमा ख्याल गर्नुहोस् । यदि र्‍यामको कुरा गर्नुहुन्छ भने आजकल कमसेकम चार जीबी र्‍याम त हुनैपर्छ ।

यसैगरी ल्यापटपमा २५० जीबी वा त्यसभन्दा माथिको स्टोरेज हुँदा राम्रो । ल्यापटपको स्पेसिफिकेसन जति राम्रो भयो ल्यापटपले गर्ने काम त्यति नै उत्तम हुन्छ भन्ने कुरा नबिर्सिनुहोस् ।

४. ल्यापटपको लुक्स

आजकल स्लिक ल्यापटप एकप्रकारको फेसन बनिसकेको छ । जसको साइज १४ इन्च हुन्छ । यद्यपि सानो आकारका ल्यापटप केही महंगो पर्ने गर्दछन् र १५.६ इन्चको ल्यापटप सस्तो हुने गर्दछ ।

यताउता लैजानका लागि भने ल्यापटप जति सानो भयो त्यति नै सहज हुन्छ । यसबाहेक ल्यापटप खरिद गर्दाको समयमा त्यसको तौलको समेत ख्याल गर्नुपर्ने हुन्छ । पछिल्लो समय आएका ल्यापटप हलुका हुन्छन् भने पुराना ल्यापटप केही गह्रौं हुने गर्दछन् ।

५. डिस्प्ले

सधैंजसो नन् रिफ्लेक्टिभ स्क्रिनयुक्त ल्यापटप खरिद गर्नुहोस् । त्यसमा कमसेकम ७२० पिक्सेल रेजोलुसन युक्त स्क्रिन होस् । ल्यापटपमा कति प्रकारका कनेक्टिभिटी पोर्ट उपलब्ध छन् भन्ने कुराको समेत ख्याल राख्नुहोस् ।

सामान्यतया यस्तो ल्यापटप खरिद गर्नेतर्फ सचेत हुनुहोस्, जसमा कमसेकम टाइप ए यूएसबी पोर्ट, एउटा टाइप सी पोर्ट, हेडफोन ज्याक, एउटा ल्यान पोर्ट, माइक्रो एसडी र एक एचडीएमआई पोर्ट होस् ।

म्याक, विण्डोज वा क्रोममध्ये कुन अपरेटिङ सिस्टम राम्राे ?

ल्यापटप खरिद गर्नुअघि अपरेटिङ सिस्टम (ओएस) लाई तपाईंले सधैं ध्यान दिनुपर्ने हुन्छ । पहिले एप्पलको म्याक ओएस वा माइक्रोसफ्टको विण्डोजमा कुन राम्रो भन्ने कुरामा विवाद हुने गर्दथ्यो ।

तर अब गुगलको क्रोम ओएस अहिले निकै लोकप्रिय विकल्प बनेको छ । सबै किसिमका सुलभ मूल्यमा उपलब्ध हुने ल्यापटपमा यो ओएस पाउन सकिन्छ । 

अपरेटिङ सिस्टम बाहेक अन्य धेरै फिचरहरु पनि छन्, जसलाई तपाईंले ल्यापटप खरिद गर्नुअघि ध्यान दिन जरुरी हुन्छ । 

विण्डोज

बजारमा विण्डोज ओएसका धेरै कम्प्युटरहरु उपलब्ध छन् । यी ल्यापटपहरुको मोडल अनुसार पर्फमेन्स र मूल्य पनि फरक फरक छ ।

विण्डोजकै राम्रा मोडलहरुले त पर्फमेन्सको मामिलामा म्याकका डिभाइसलाई पनि पछि पारिदिन सक्छन् । विण्डोजका अधिकांश ल्यापटपहरु गेमिङ र बिजनेस युजका लागि बनाइएका हुन्छन् ।

आकारको कुरा गर्दा विण्डोजका डिभाइस विभिन्न आकारमा बजारमा पाउन सकिन्छ । क्लामसेल डिजाइन र किबोर्ड माउस इन्टरफेस भएका स्ट्याण्डर्ड ल्यापटपहरु बजारमा सजिलै पाउन उपलब्ध छन् ।

यस्तै कम मूल्यमा समेत टचस्क्रिन भएका विण्डोज ल्यापटप पाउन सकिन्छ । तर एप्पल म्याकबुकमा भने सस्तो मूल्यमा यस्तो फिचर सम्भव छैन । 

अझ प्रिमियम डिजाइनमा हेर्ने हो भने फोल्ड ब्याक स्क्रिन वा डिटेचेबल ट्याब्लेट किबोर्ड कम्बो पनि बजारमा उपलब्ध छ । जस्तै माइक्रोसफ्टको सर्फेस बुक रेन्ज । 

सफ्टवेयरको कुरा गर्दा विण्डोज म्याकओएसको तुलनामा एकदमै लचिलो हुन्छ । यो गेम डेभलपमेन्ट तथा बिजनेस सम्बन्धि प्रोग्रामका लागि एकदमै उपयुक्त हुन्छ ।

एप्पलको म्याकओएसको तुलनामा यसमा अपडेट र नयाँ फिचर पनि नियमित रुपमा आइरहन्छन् । एप्पलमा वार्षिक अपडेट पाइन्छ भने विण्डोजमा अर्धवार्षिक अपडेट पाउन सकिन्छ ।

एप्पलमा हार्डवेयरका लागि एकदमै सीमित लाइनअप हुन्छ । तर विण्डोजमा भने छनौटका विकल्प प्रशस्तै हुन्छन् । जस्तै तपाईंले लेनोभो, डेल वा माइक्रोसफ्टको आफ्नै डिभाइस अथवा अन्य थुप्रै अप्सन पाउन सक्नुहुन्छ । 

म्याक ओएस 

एप्पलको ब्राण्ड पर्सेप्सन अर्थात अनुभूति एकदमै राम्रो छ । ब्राण्ड संरक्षणका लागि उसले छोटो अन्तरालमा विभिन्न नयाँ मोडलहरु निकाल्ने गर्छ ।

विण्डोज वा क्रोम ओएसमा जस्तो निर्माणकर्ताले बेग्लाबेग्लै मापदण्ड यसले पालना गर्दैन । एप्पलका प्रडक्ट निर्माणमा आफ्नै पृथक मापदण्डहरु छन् ।

यसैको परिणामस्वरुप म्याक एकदमै प्रयोगकर्तामैत्री र स्टेबल (स्थिर) छ । एउटै इकोसिस्टमबाट आउने भएको कारण, एप्पलको रिसोर्सफुल (श्रोतसाधनले भरिपूर्ण) सपोर्ट सधैं एकअर्को डिभाइसमा रहिरहन्छ ।

म्याकको एउटा अर्को लोकप्रिय पक्ष भनेको यसको गुणस्तरिय डिजाइन पनि हो । यी डिभाइस हेर्दा वा प्रयोग गर्दा एकदमै भव्य अनुभूति हुन्छ ।

त्यसो त यसको मूल्य विण्डोज र क्रोम जस्ता समकक्षी ब्राण्डभन्दा धेरै नै उच्च छ । विशेषगरी स्टोरेजको मामिलामा ।

तर यदि तपाईं सस्तो ल्यापटप खोज्दै हुनुहुन्छ भने म्याकओएसको ल्यापटप तपाईंका लागि उपयुक्त विकल्प होइन । म्याकले फास्ट हार्डवेयर प्रयोग गर्छ ।

तर यसमा विण्डोज कम्प्युटरमा जस्तो शक्तिशाली ग्राफिक्स चिप भने पाउन सकिँदैन । राम्रो कम्प्युटर चाहिएको छ, तर हार्डवेयरका बारेमा धेरै कुरा थाहा छैन भने दैनिक प्रयोगका लागि म्याकले राम्रै हुनसक्छ ।

म्याक प्रयोग गर्न सजिलो र बुझ्न योग्य हुन्छ । विण्डोजको तुलनामा यसका सबै एप तथा सफ्टवेयरहरु आफ्नो निर्दिष्ट कार्य सम्पन्न गर्न सजिलो र सही तरिकाले राखिएका हुन्छन् ।

तर म्याकको डिजाइनको कडा‍ईका कारण यसमा कस्टमाइज गर्ने स्वतन्त्रता भने हुँदैन । यसमा हार्डवेयर जुन इन्स्टल छ, त्यही प्रयोग गर्नु पर्छ ।

मेमोरी वा स्टोरेज बढाउने वा घटाउने सुविधा पनि हुँदैन । एप्पलमा टचस्क्रिन सुविधा नभए पनि तपाईंले एप्पलको साइडकार मोड प्रयोग गरेर टच सपोर्टका लागि आईप्याडलाई दोस्रो वायरलेस स्क्रिनको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । 

क्रोम ओएस 

गुगलको क्रोम ओएस विण्डोज र म्याक ओएसभन्दा केही फरक छ । क्रोम ब्राउजरमा आधारित यो ओएस आफ्नो प्रारम्भिक चरणमा वेबमा आधारित एप र एफोर्डेबिलिटी (क्रयशक्तिमा आधारित) मा केन्द्रीत थियो ।

क्रोम ओएसले विगत धेरै वर्षदेखि पुराना डेस्कटप सफ्टवेयर र मोबाइल एपहरुलाई सपोर्ट दिइरहेको छ । क्रोम ओएसमा बनेका ल्यापटपमा क्रोम बुक निकै नै लोकप्रिय छ ।

यो विण्डोजमा आधारित पीसी र म्याकबुकभन्दा धेरै सस्तो छ । किनभने यसमा हार्डवेयर थोरै हुन्छन् ।

विद्यालय र संस्थागत प्रयोगका लागि यो ल्यापटप निकै राम्रो छ । साथै सोसल मिडिया र अनलाइन पर्चेजका लागि मात्र ल्यापटप आवश्यक हो भने क्रोमबुक तपाईंका लागि उपयुक्त डिभाइस हो । 

तर आजभोलि क्रोमओएसमा पनि विभिन्न मोडलका अप्सन थप भएका छन् । गुगलको पिक्सेल बुक हेर्दा प्रिमियम विण्डोज र म्याकओएस ल्यापटप जस्तै छ ।

साथै पिक्सेल स्लेट वा एचपी क्रोमबुक एक्स टु जस्ता टु ईन वान अप्सन पनि प्रशस्तै छन् । आजको समयमा आइपुग्दा क्रोम ओएस पहिलेभन्दा धेरै भर्सटाइल (विविध स्वरुपको) भइसकेको छ ।

त्यसो त यसको जग आज पनि वेब केन्द्रीत नै हो । यद्यपि यसले गुगल प्ले र एन्ड्रोइड एपलाई समेत सपोर्ट गर्दछ ।

यो आज एन्ड्रोइड फोनसँग समानान्तर चल्न सक्छ । साथै एप्पलको आईम्यासेजलाई समेत यसले मिमिक्री गरेको छ ।

यसबाहेक क्रोम ओएसले लिनक्सलाई पनि सपोर्ट गर्दछ । यसमा जीआईएमपी तथा स्टिम जस्ता परम्परागत डेस्कटप सफ्टवेयर समेत प्रयोग गर्न सकिन्छ ।

तर यसको एउटा बेफाइदा भनेको यसको लाइब्रेरी विण्डोज म्याकओएसको जस्तो विविधतापूर्ण छैन । लिनक्सको सपोर्ट पनि बेटामै सीमित छ ।

यद्यपी विण्डोजको बर्चस्व रहेको बजारमा क्रोम ओएस आज पनि एउटा बलियो खेलाडीको रुपमा गनिन्छ । यदि तपाईंले खोजेको ल्यापटपको आवश्यकता क्रोमबुकले पुरा गर्नसक्छ भने यसबाट तपाईंको धेरै पैसा बचत हुने कुरामा निर्धक्क भए हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१