काठमाडौं । इन्स्टाग्रामले दुर्वाच्य, अश्लील शब्द तथा इमोजीहरु भएका डाइरेक्ट म्यासेज रिक्वेस्टलाई फिल्टर गर्न नयाँ टुल सार्वजनिक गरेको छ ।
इन्स्टाले याे टुल विशेषगरी सेलिब्रेटी र सार्वजनिक व्यक्तित्वहरुका लागि ल्याएको हो, जसले अत्याधिक अनावश्यक र हानिकारक डाइरेक्ट म्यासेज प्राप्त गर्ने गर्छन् ।
प्लेटफर्ममा ‘हेट स्पिच’ विरुद्ध लड्न कम्पनीले यो नयाँ अपडेट ल्याएको हो । गत फेब्रुअरीमा मात्र कम्पनीले धेरैभन्दा धेरै दुर्व्यवहारजन्य म्यासेज पठाउने प्रयोगकर्ताहरुको अकाउन्टलाई डिसेबल गर्ने बताएको थियो ।
२०१८ मा मात्र कम्पनीले आफ्नो अफेन्सिभ कमेन्ट फिल्टर विस्तार गरेको थियो, जसले व्यक्तिको रुप तथा गुणलाई प्रत्यक्षरुपमा निन्दा गर्ने कमेन्टहरुलाई स्वत: ब्लक गरिदिन्थ्यो ।
एपको नयाँ सेक्सन ‘हिडन वर्ड्स’ मा भएको टोगललाई अन/अफ गरी म्यासेज रिक्वेस्ट फिल्टर गर्न सकिन्छ । जब यो अन हुन्छ, तब अफेन्सिभ म्यासेजहरु छुट्टै फोल्डरमा गएर बसिदिन्छ ।
यस फोल्डरमा डाइरेक्ट म्यासेजहरु लुकेर बस्छन् । तर यदि प्रयोगकर्ताले ती म्यासेज पढ्ने वा हेर्ने जिज्ञासा राख्छन् भने तीनले त्यसलाई खोल्न, पढ्न, डिलिट तथा रिपोर्ट गर्न सक्छन् ।
कम्पनीले अहिले आफूहरु भेदभाव र बुलिङ विरोधी संगठनहरुसँग काम गरिरहेको बताएको छ । यी संस्थाहरुले दुर्वाच्य तथा अश्लील शब्द ठहर गरी बनाएको आफ्नै सूचीलाई अहिले इन्स्टाले प्रयोग गरिरहेको छ ।
तर प्रयोगकर्ताले आफूलाई असहज हुने शब्दको आफैं सूची बनाएर यो फिचरलाई कस्टमाइज गर्न सक्छन् ।
कम्पनीले आगामी हप्तामा यो नयाँ फिचर धेरै मुलुकमा रोलआउट हुने बताएको छ । यद्यपि कम्पनीले अहिले नै मुलुकहरुको नाम भने खुलासा गरेको छैन ।