काठमाडौं । तपाईंले डेटिङ एपहरुका बारेमा त धेरै सुन्नु र प्रयोग गर्नुभएको होला । तर आज हामी तपाईंहरुलाई एकदमै पृथक किसिमको डेटिङ एपको बारेमा बताउने छौं । यो डेटिङ एप हो सेकेण्ड वाइफ डटकम हाे, जहाँ तपाईंले दोस्रो श्रीमती खाेज्न सक्नुहुन्छ ।
पाकिस्तानको यो अचम्मको एपको प्रयोग नेपाल तथा नेपालजस्ता बहुविवाहलाई बर्जित गर्ने मुलुकमा कुनै सान्दर्भिकता छैन । तर बहुविवाह वैधानिक रहेको पाकिस्तानमा भने हाल यो निकै चर्चामा छ ।
सेकेण्ड वाइफ एपका संस्थापक आजाद चाईवालाले १२ वर्षको कलिलो उमेरमा नै बहुपत्नीको धनी बन्ने अड्डी कसेका थिए ।
बेलायतमा रहँदा २२ वर्षमा विवाह गर्दा ताका नै उनले आफ्नो ससुराली खलकलाई आफूले भविष्यमा धेरै श्रीमती विवाह गरी कम्तीमा २० जना बच्चा पैदा गर्ने योजना सुनाएका थिए । दशक बितिसक्दा पनि ३३ वर्षीय आजाद एउटै श्रीमतीसँग जीवन बिताइरहेका छन् ।
तर बहुविवाह चाहने आफू र आफूजस्ताका लागि भने उनले सजिलो सुविधा सेकेण्ड वाइफमार्फत प्रदान गरेका छन् ।
आफूलाई सिरियल आन्टप्रिनियर बताउने आजाद आफूले अफलाइनमा दोस्रो श्रीमती भेट्न नसकेको समस्या अन्य मुश्लिम युवाहरुले नभोगुन् भनेर यो एप सेटअप गरेको बताउँछन् । तर एपमा दोस्रो मात्र हैन तेस्रो, चौंथो जति पनि श्रीमती पुरुषले खोज्न सक्छन् ।
विगतमा पनि उनले दर्जनौं वेब आधारित यस्ता व्यवसायहरु निर्माण गरिसकेका छन्, जसमा मासिक ५ करोडभन्दा धेरै प्रयोगकर्ताहरु हुन्छन् ।
हालसम्म यस एपमा ३५ हजारभन्दा धेरैले साइनअप गरिसकेका छन् भने लेइचस्टरका मुश्लिम युवाहरुमाझ यो खुब लोकप्रिय छ ।
पाकिस्तान आधारित आजाद आफ्नो एपले पुरातनवादी मूल्य मान्यता र नैतिकतालाई कायम राख्न मद्दत पुर्याएको विश्वास गर्छन् ।