काठमाण्डौ । बिहीबारदेखि सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द हुने भएको छ ।
यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै वैशाख १६ गते बिहीवारदेखि अर्को सूचना नआएसम्म अनलाइन आवेदन प्रणाली बन्द हुने जानकारी दिएकाे हो ।
कोरोना महामारीकाे दोस्रो लहर फैलिएका कारण विभागले आवेदन प्रणाली बन्द गरेकाे जनाएकाे छ । यसबाट सेवाग्राहीलाई हुने असुविाप्रति विभागले क्षमा मागेकाे छ ।
यसअघि विभागले गत वर्ष भएको लकडाउन र निषेधाज्ञाका कारण झण्डै १० महिनासम्म सवारी चालक अनुमति पत्रको आवेदन र परीक्षा रोकेको थियो ।
यसपछि खुलाइएकाे अनलाइन आवेदन प्रणालीमा सेवाग्राहीको चाप अत्याधिक बढेकाे छ । यहीकारण विभागकाे अनलाइन पाेर्टल पटक पटक डाउन भएकाे थियाे ।
अहिले ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन दिएका सेवाग्राहीले १० महिनापछि परीक्षाको पालो पाएका छन् । फेरि आवेदन अनलाइन प्रणाली बन्द हुँदा सेवाग्राहीकाे चाप बढ्ने देखिन्छ ।