close

एकाएक किन घट्यो क्लब हाउस एपको क्रेज ?

टेकपाना टेकपाना

बैशाख २१, २०७८ १८:१७

एकाएक किन घट्यो क्लब हाउस एपको क्रेज ?

काठमाडौं । यो वर्षको सुरुवातमा क्लब हाउस सबैभन्दा सफल सोसल मिडिया प्लेटफर्म बन्यो । गत फेब्रुअरीमा मात्रै याे एप आईओएसमा ९० लाख ६० हजार डाउनलोड भएको थियो । जसरी बजारमा प्रतिस्पर्धा बढ्दै गएको छ, त्यसरी नै अडियोमा आधारित सोसल नेटवर्क क्लब हाउसको डाउनलोड सोचजस्तो हुन सकेको छैन ।

नयाँ प्रतिवेदनअनुसार अघिल्लो महिना अर्थात अप्रिलमा ९ लाखमात्रै डाउनलोड भएको छ । जुन तीन महिनाअघिकाे तुलनामा निकै कम हो । सेन्सर टावर रिसर्चका अनुसार गएको अप्रिलमा क्लबहाउस मात्रै ९ लाख २२ हजार डाउनलोड भएको हाे, जुन मार्च महिनाको तुलनामा झन्डै ६६ प्रतिशत कम हो ।

रिसर्च प्रतिवेदनअनुसार प्रयोगकर्ताको क्लबहाउसको प्रतिको आकर्षण भने घटेको छैन । यसको अर्थ जसले एप डाउनलोड गरेको छन्, उनीहरुले एप हटाएका भने छैनन् । तर, सँगै डाउनलोड संख्यामा आएको कमीले भने कम्पनीलाई तनाव सिर्जना गरिरहेको छ ।

कम्पनीले पनि आफ्ना प्रयोगकर्ताका लागि समय समयमा विभिन्न सेवा भने थप गर्दै आएको छ । यसैअन्तर्गत कम्पनीले अघिल्लो महिनामात्रै लाइभ च्याटलाई मनिटाइज गर्न मिल्ने फिचर समावेश गरेको थियो । जसले कन्टेन्ट क्रिएटरलाई मद्दत पुग्ने अपेक्षा कम्पनीकाे छ ।

तर, उक्त फिचर प्रतिस्पर्धी कम्पनीको बीचमा भने त्यति प्रभावकारी हुन सकेन । भर्खरै मात्रै ट्वीटरले स्पेस, फेसबुक, लिंकडिन, टेलिग्राम लगायतका कम्पनीले पनि यो फिचर उपलब्ध गराएका छन् । जसमध्ये ट्वीटरले ल्याएको स्पेस सबैभन्दा प्रभावकारी भइरहेको अध्ययनले देखाएको छ ।

यसरी क्लबहाउस पछि पर्नुको कारण कम्पनीले सर्भिस आईओएसमा मात्रै उपलब्ध गराउनुलाई पनि हेरिएको छ । हुन त कम्पनीले हालै क्लबहाउसको बेटा भर्सन एन्ड्रोइड भसर्नमा उपलब्ध गराएको छ । यसले आगामी दिनमा कम्पनीको डाउनलोड बढाउनसक्ने आँकलन गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१