close

तीन महिनामै सामसङको नाफा १० खर्ब

टेकपाना टेकपाना

बैशाख २२, २०७८ १८:४

तीन महिनामै सामसङको नाफा १० खर्ब

काठमाडौं । सामसङले २०२१ को पहिलो तीन महिनामा उल्लेख्य आम्दानी आर्जन गरेको छ । कम्पनीले स्मार्टफोन तथा अन्य उपभोग्य विद्युतीय समाग्रीको बिक्रीबाट याे अवधिमा ५९ अर्ब डलरको कूल आम्दानी गरेको छ ।

यसबाहेक कम्पनीले खुद नाफा मात्र ८ अर्ब ४६ करोड डलर (९ खर्ब ९९ अर्ब रूपैयाँभन्दा बढी) गरेको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा ४९ अर्ब ९५ करोड डलरको आम्दानी गरी ५ अर्ब ८२ करोड खुद नाफा कमाएको थियो ।

अघिल्लो अवधिको तुलनामा यस वर्ष नाफा ४५ प्रतिशतले वृद्धि भएको छ । २०२० को पहिलो त्रैमासिकमा कोरोना भाइरसका कारण बजार र उपभोक्ता प्रभावित भएका कारण यस वर्षको पहिलो त्रैमासिकको तथ्याङ्कमा धेरै फरक परेको कम्पनीले बताएको छ ।

एसओसी अर्थात् चिप मेनुफ्याक्चर प्रभावित हुने हुँदा आगामी जून महिनामा अन्त्य हुने दोस्रो त्रैमासिकको आम्दानी र खुद नाफा घट्ने प्रक्षेपण भएपनि यो पछिल्लो परिणामले कम्पनीमा थप आत्मविश्वास बढाएको बताउँदै अन्य त्रैमासिकमा व्यावसायलाई थप राम्रो बनाउँदै लग्ने जनाइएकाे छ ।

यस अवधिमा कम्पनीले आफ्नो फ्ल्यागशिप फोन, ट्याब्लेट, पीसी, वेयरेबल डिभाइस, डिस्प्ले तथा सेमिकण्डक्टरहरु बिक्री गरेको थियो । कम्पनीले सम्पूर्ण उत्पादनहरु विश्वमा तीव्र गतिमा भइरहेको फाइभजी विस्तारलाई मध्यनजर गरी निर्माण गरेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१