काठमाडौं । अमेरिकी टेक कम्पनी आईबीएमले अहिले भइरहेको चिपको अभाव दुई वर्षसम्म नटुङ्गिने संकेत गरेको छ । आईबीएमका अध्यक्ष जेम्स एम ह्वाइटहर्स्टले अहिलेको अवस्था सुध्रिन अझैं केही वर्ष लाग्ने अनुमान गरेका हुन् ।
कोभिड–१९ का कारण गरिएको विश्वव्यापी लकडाउनका कारण चिप उत्पादन रोकिँदा अहिले विश्वभर नै सेमिकन्डक्टरको अभाव छ । पहिलो चरणको कोभिड–१९ संक्रमणको लहरपछि विश्वभर नै मोबाइल, डिभाइस र कारको निर्माणले तीव्रता लिएको भए पनि चिपको भने अभाव भइरहेको छ ।
आईबीएमले आफूले विकास गरेको माइक्रोप्रोसेसर प्रविधिमा आधारित रहेर चिप उत्पादनको लागि विश्वका ठूला कम्पनीहरु इन्टेल, टीएसएमसी, सामसङजस्ता कम्प्नीलाई जिम्मा दिएको छ ।
चिपको अभावलाई चिर्न आईबीएमले पुराना चिपको पुर्नप्रयोग, अहिले भइरहेको उत्पादन क्षमता वृद्धिको लागि विभिन्न विकल्पबारे सोचिरहेको पनि अध्यक्ष ह्वाइटहर्स्टले बताएका छन् ।
सेमीकन्डक्टरको अभावले एप्पलले पनि आफ्नो आईफोन बजारमा पठाउने मितिमा ढिलाइ गरिरहेको छ ।