काठमाडौं । आफ्नो मुद्रा युआनको डिजिटल संस्करणको परीक्षणमा चीनले उल्लेख्य सफलता हासिल गरेको छ । चीनले सांघाई नजिकको सुजो सहरमा डिजिटल मुद्राको सफल परीक्षण गरिएको घोषणा गरेको हो ।
यो सहरका १ लाख ८१ हजार नागरिकलाई ५५ युआन (एक हजार नेपाली रुपैयाँ) डिजिटल मुद्रा दिएर मे १ देखि ५ तारिखसम्म केही पसलहरुमा खर्च गर्न लगाइएको थियो । चीनका ११ वटा राज्यमा ५ लाख मानिस समक्ष डिजिटल मुद्राको परीक्षण गर्ने पिपुल्स बैंक अफ चाइनाको अभियानको यो एउटा अंग थियो ।
यसअन्तर्गत बैंकले छानेका नागरिकलाई डिजिटल वालेटको रुपमा एप डाउनलोड गर्न लगाइन्छ, जसबाट सामान खरिद गर्दा उनीहरुले आफ्नो सहरका हजारौं पसलमा सामान किन्दा छुटसमेत पाउँछन् ।
डिजिटल युआन भनेको चिनियाँ मुद्रा युआनकै डिजिटल स्वरुप हो, जसलाई ब्लकचेन प्रविधिमार्फत परिचालन गर्न खोजिएको छ । ब्लकचेन भनेको अनलाइनमै स्वतः तथ्यांक राख्न सकिने प्रविधि हो, जसले कुन पैसा कोसँग छ भनेर जानकारी राख्ने सुविधा दिन्छ ।
बिटक्वाइन र इथेरमजजस्ता क्रिप्टोकरेन्सी पनि यही प्रविधिमा आधारित छन् । तर, चीनमा परीक्षण भइरहेको यो प्रविधि भने ‘पर्मिसन्ड’ हो । यसको अर्थ कुन पैसा कसलाई चलाउन दिने भनेर नियन्त्रण गर्ने अधिकार पिपुल्स बैंकलाई हुन्छ ।
चीनमा सन् २०२० मा पनि यस्तै खालको सानो परीक्षण गरिएको थियो । तर यो पटक गर्न लागिएको परीक्षण गत वर्षको भन्दा १० गुणाले बढी हो ।
चीनले आफ्नाे सहरमा मात्रै नभई हङकङमा पनि यस्तो खालको परीक्षण गर्दैछ भने अन्तर्राष्ट्रिय कारोबारमा पनि प्रयोग गर्न सकिने गरी प्रविधिको विकास गर्दैछ ।
सुरुमा थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स र बैंक अफ इन्टरनेसनल सेटलमेन्टमा कारोबार गर्न सकिने गरी डिजिटल मुद्राको प्लेटफर्म तयार भइरहेको छ ।
परीक्षणको क्रम हेर्दा आफ्नो मुद्रालाई ‘पर्मिसन्ड’ ब्लकचेन प्रविधिमा पूर्ण रुपमा राख्नेमा चीन पहिलो देश हुनेछ । यो उपलब्धि कहिलेसम्म हासिल हुन्छ भन्ने यकिन नभए पनि आगामी एक वर्षभित्रमा यसले ठूलो सफलता हासिल गरिसकेको हुनेछ ।
यसको विपरीत, पश्चिमी मुलुकका प्रमुख बैंकहरु फेडरल रिजर्भ बैंक, बैंक अफ इङ्ग्ल्याण्ड र युरोपियन सेन्ट्रल बैंक भने आफूले बनाउने भनेको सेन्ट्रल बैंक डिजिटल बनाउने मामिलामा निकै सुस्त छन् ।
ब्लकचेक प्रविधि अपनाउँदा कारोबारहरु सार्वजनिक रुपमा हेर्न सकिने भएकाले यसले गोपनीयताको अधिकारमा असर गर्ने र डिजिटल मुद्रामा जाँदा बैंकहरुको भविष्यमा कस्तो असर पर्छ भन्ने कुरामा उनीहरु चिन्तित छन् ।
डिजिटल मुद्रामा जाने चिनियाँ गतिले विश्वव्यापी वित्तीय स्थायित्वमा कस्तो असर पर्छ भन्ने चाहिँ महत्वपूर्ण प्रश्न हुनेछ । विश्वका अन्य अर्थतन्त्रले चीनको यो कदमलाई कसरी हेर्छन् भन्ने पनि मुख्य प्रश्न छ ।
डिजिटल मुद्राका फाइदाहरु डिजिटल युआनले अहिले नै कानूनी हैसियत पाइसकेको छ । डिजिटल युआनमार्फत हुने भुक्तानी चीनमै प्रयोग हुने अन्य भुक्तानी सेवाप्रदायक अलीपे वा वीच्याटभन्दा आधारभूत रुपमै फरक छ ।
वीच्याट र पेपलजस्ता भुक्तानी सेवाप्रदायकको कारोबारको व्यवस्थापन (सेटलमेन्ट) उपभोक्ताका लागि एकदमै चाँडो हुन्छ । तर यस्तो कारोबारको लेखाङ्कन गरिएका ठूलो डेटाबेसले काम गरिरहेको हुन्छ ।
जसको व्यवस्थापनको लागि केही घण्टा वा कुनै अवस्थामा एक दिन पनि लाग्न सक्छ । डिजिटल युआनले यस्ता बैंकको आवश्यकतालाई हटाइदिएको छ ।
साथै, अन्य भुक्तानी सेवाप्रदायकले लिने जस्तो कुनै सेवा शुल्क पनि यसमा पर्दैन र, सैद्धान्तिक रुपमा भन्नुपर्दा भुक्तानीको गति पनि अहिलेको भन्दा चाँडो हुन्छ ।
बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सीहरु यो स्वतन्त्र रुपमा चल्ने मुद्रा भने होइन । यसलाई त्यहाँको सरकारले सञ्चालन गरेको हो ।
जसकारण यो भौतिक मुद्रा वितरण गरेको जस्तै, डिजिटल रुपमा सुरक्षित रुपमा वितरण गरिने मुद्रा हो । यसले सरकारलाई कुन पैसा कहाँ छ भन्ने जानकारी पनि दिन्छ । भौतिक मुद्राजस्तो कसैले लुकाएर राख्ने सम्भावना पनि यसमा हुन्न ।
तीन जोखिम धेरै देशका केन्द्रीय बैंकहरुले डिजिटल मुद्राको विकासको तयारी गरिरहेका छन् । जापान र कोरिया पनि यो मामलामा निकै अगाडि छन् ।
युरोपियन युनियनमा आवद्ध देशहरुमा भने डिजिटल मुद्रा प्रचलनमा आउन अझै पनि ४–५ वर्ष लाग्न सक्छ । केहीलाई यस्ता डिजिटल मुद्रा जोखिम पनि हुने लाग्छ ।
पहिलो जोखिम हो- अन्तर्राष्ट्रिय भुक्तानी । धेरै मुद्राहरुबीच कारोबार हुँदा अहिले डलरलाई आधार मानेर कारोबार हुन्छ ।
यसका लागि स्वीफ्ट नामक अन्तर्राष्ट्रिय बैंकिङ प्रोटोकल प्रयोग हुन्छ । यसका कारण डलरको माग संसारभर नै उच्च हुन्छ र अमेरिकालाई आफूले सामान वा सेवा खरिद गर्दा सस्तोमा पाउने सम्भावना सधैं रहिरहन्छ ।
डिजिटल युआनमार्फत कारोबार हुँदा स्विफ्ट प्रोटोकल वा डलरलाई मध्यस्थकर्ता मुद्राको रुपमा प्रयोग गरिरहनु पर्दैन । १२० भन्दा बढी देशले चीनसँग ठूला व्यापार गर्दै आएका छन् ।
यस्ता देशले डलरलाई मध्यस्थकर्ता मुद्राको रुपमा कारोबार गर्दा वित्तीय भार पर्नुका साथै दिनहुँ परिवर्तन हुने डलरको भाउले अस्थिरताको जोखिम निम्त्याइरहेको हुन्छ ।
चीनले भने आफूले डलरलाई मध्यस्थता मुद्राको रुपमा हटाउने उद्देश्यसहित युआन नल्याएको बताउँदै आएको छ । अन्तर्राष्ट्रिय कारोबारमा कुन मुद्रालाई मध्यस्थकर्ता बनाउने भनेर बजारलाई नै छान्न दिनुपर्ने उसको भनाइ छ ।
डिजिटल मुद्राले ल्याउने दोस्रो जोखिम भनेको यदि केन्द्रीय बैंकले डिजिटल मुद्राको माग धान्न सकेन भने बजारको शक्तिले यसलाई परिपूर्ति गर्नेछ । ११औं शताब्दीमा कागजी नोटको आविष्कार गरेको चीनमा अहिले कागजी नोट प्रयोगविहीन बन्दै गएको छ ।
भौतिक रुपमा प्रयोग गर्नु नपर्ने क्रेडिट कार्ड महामारीको बेलामा निकै लोकप्रिय बन्यो । डिजिटल मुद्राको तेस्रो जोखिम भनेको डिजिटल मुद्रालाई अबलम्बन गर्न नसक्ने विभिन्न देशका केन्द्रीय बैंकहरु आफ्नो अर्थतन्त्रलाई व्यवस्थापन गर्न असफल हुन सक्छन् ।
अर्को शब्दमा भन्नुपर्दा, कुनै पनि नियमन गर्न नसकिने खालका यस्ता मुद्राहरुको कारोबार बढ्दै गयो भने सम्बन्धित देशका केन्द्रीय बैंकहरुले ब्याजदर तोक्ने वा मुद्राको प्रवाहलाई व्यवस्थापन गर्न नसक्लान् ।
उदाहरणको लागि : क्रिप्टोकरेन्सीलाई कुनै देशले प्रतिबन्ध लगाउन सक्छ, तर त्यसले क्रिप्टोकरेन्सीले ल्याउने फाइदाहरुलाई रोक्न भने सक्दैन ।
युरोप र अमेरिकासँग चीनको तनावपूर्ण व्यापार सम्बन्ध जारी रहेको बेलामा डिजिटल युआनको परीक्षण तीव्र भइरहेको छ । यस्तो बेलामा भविष्यको मुद्राको लागि चीनलाई ‘फस्ट मुभर’ को लाभ दिनु अन्य देशको लागि चिन्ताको विषय हुन सक्छ ।
ब्लकचेन प्रविधिले हामीले अहिले गरिरहेको भुक्तानी प्रणालीलाई बदलिरहेको छ । समयमै यसको उपभोग गर्न नसके नेपाल जस्ता देशहरु भविष्यमा थप पछाडि परिने जोखिमलाई नकार्न सकिन्न ।
यस्तो अवस्थामा विश्वका ठूला अर्थतन्त्र मिलेर आफ्नै डिजिटल मुद्राको परीक्षण सुरु गर्न ढिला गर्नुहुन्न ।
–दी नेक्स्टवेबमा प्रकाशित आलेखबाट अनुवादित र सम्पादित अंश