close

काभ्रे जिल्ला अदालतमा जुम मिटिङबाट मुद्दा सुनुवाई

टेकपाना टेकपाना

जेठ ३, २०७८ २१:१४

काभ्रे जिल्ला अदालतमा जुम मिटिङबाट मुद्दा सुनुवाई

काठमाडौं । काभ्रे जिल्ला अदालतले अनलाइनबाटै मुद्दाको सुनुवाई थालेको छ । कोरोना भाइरस फैलिएसँगै अदालती प्रक्रियामा पनि समस्या सिर्जना भएपछि अदालतले मुद्दा सुनुवाईमा अनलाइन प्रणाली अवलम्बन सुरू गरेको हो ।

यो व्यवस्थासँगै अदालतमा मुद्दाका पक्ष र कानुन व्यवसायी आउनु नपर्ने गरी अनलाइनमार्फत नै मुद्दाको सुनुवाई र बहस सुरु भएको छ ।

जिल्ला अदालतले जुम आईडी सरकारी वकिल, कानुन व्यवसायी मुद्दाका पक्षहरुलाई उपलब्ध गराएर जुम मिटिङ मार्फत सुनुवाइ गरेको हो ।

यसअन्तर्गत वैशाख ३० गते पहिलो पटक भर्चुअल माध्यमबाट सुनुवाई गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवाको म्याद थपको अनुमति प्रदान गरेको श्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिए ।

हाल देशका अधिकांश अदालतले वैशाख महिनाभर आफ्ना सेवा स्थगित गरेका छन् । कोभिड १९ संक्रमण तत्काल रोकिने अवस्था नरहेकाले अदालतहरूलाई वैकल्पिक विधि अपनाउन दबाब आउन थालेको छ ।

अदालतमा मुद्दाको संख्या बढ्दै जाने तर सुनुवाई शुन्य हुँदा थप जटिलता आउने अवस्था छ । यहीकारण सर्वोच्च अदालतले पनि अनलाइनमार्फत मुद्दा सुनुवाई थाल्ने तयारी गरेको छ ।

यसका लागि सर्वोच्चले तीन सदस्यीय अध्ययन समिति गठन गरिसकेको छ, जसले अनलाइनमार्फत सुनुवाई प्रक्रिया कसरी अगाडि बढाउन सकिन्छ भनेर प्रतिवेदन पेश गर्नेछ ।

प्रतिवेदनअनुसार एक महिनाभित्र अनलाइन प्रणाली आरम्भ गर्ने आन्तरिक तयारी सर्वोच्चको छ । अनलाइनबाटै मुद्दा फर्च्छ्यौट हुने प्रणाली सुरुवात हुन सके न्यायिक प्रणालीमा सहजता आउने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१