close

अमेजनको गिफ्ट भन्दै ह्वाट्सएपमा ‘स्क्याम’ म्यासेज, सुरक्षित रहन लिङ्क नखोल्नुहोला

टेकपाना टेकपाना

जेठ ४, २०७८ १२:१७

अमेजनको गिफ्ट भन्दै ह्वाट्सएपमा ‘स्क्याम’ म्यासेज, सुरक्षित रहन लिङ्क नखोल्नुहोला

काठमाडौं । के तपाईंले ह्वाट्सएपमा अमेजनको ३०औं वार्षिकोत्सवमा नि:शुल्क उपहारहरु पाउने सर्वेक्षणमा सहभागी हुने म्यासेज पाउनुभएको छ ? पाउनुभएको छ भने त्यसमा क्लिक नगर्नुहोला । त्यो एउटा स्क्याम हो ।

म्यासेजको लिङ्क खोलेर झट्ट हेर्दा अमेजनकै आधिकारिक वेबसाइटजस्तै देखिने भएपनि त्यो वास्तविक होइन । जब तपाईंले म्यासेजमा क्लिक गर्नुहुन्छ, तपाईंलाई ‘बधाई छ, तपाईं हाम्रो सर्वेक्षणका लागि छनोट हुनुभएको छ । यसका लागि जम्मा केही मिनेट लाग्नेछ र तपाईंले ह्वावे मेट ४० प्रो फाइभजी फुल नेटकम ८ जीबी +२५६ जीबी (हल्का कालो) पुरस्कार पाउनुहुनेछ’ भन्ने देख्नुहुनेछ ।

यो म्यासेजको विवरण र वेबसाइट हेर्दा तपाईंलाई ठ्याक्कै हो कि जस्तो पनि लाग्न सक्छ । वास्तवमा अमेजनले यस किसिमको कुनै उपहार योजना नै ल्याएको छैन । म्यासेज खोलिसकेपछि त्यहाँ केही तपाईंसँग सम्बन्धित विवरण (उमेर, समूह, लिङ्ग), अमेजनको सेवाको गुणस्तर र तपाईं आईफोन अथवा एन्ड्रोइड कस्तो प्रकारको युजर हो भनेर पनि सोधिन्छ ।

उक्त उत्तरहरु दिइसकेपछि तपाईंलाई गिफ्ट बक्सको चित्र देखाइन्छ र बक्समा क्लिक गर्न लगाइन्छ र कुनै एउटाबाट ह्वावे मेट ४० देखाइन्छ । त्यसपछि तपाईंलाई यस किसिमको प्रश्नोत्तर ५ ओटा व्हाट्सएप ग्रुप अथवा २० ओटा साथीलाई पठाउन लगाइन्छ ।

त्यसपछि उनीहरुलाई एप डाउनलोड गर्न र आफ्नो ठेगाना राख्न लगाइन्छ । अनि उक्त उपहार ५-७ दिनभित्र डेलिभर गर्ने जनाइन्छ ।

यस्ता वेबसाइटहरुमा आफूसँग सम्बन्धित कुनै सूचना अथवा जानकारी दिनु आफ्नै लागि जोखिमपूर्ण हुन्छ । उल्लेख भएका एपहरु डाउनलोड गर्न लगाएर तपाईं वित्तीय विवरणसम्म पहुँच पुर्‍याउने अथवा लिङ्कमार्फत मालवेयर इन्स्टल गरिदिन सक्छन ।

ह्वाट्सएपमा तपाईंलाई प्राप्त त्यस्तो म्यासेज क्लिक नगरी डिलिट गरिदिनुहोस । अनि सुरक्षित रहनुहोस् । अहिले फेसबुक, भाइबरलगायतका सामाजिक सञ्जालमा पनि यस्ताे स्क्याम म्यासेज फैलिरहेकाले सावधानी अपनाउन सुरक्षाा जानकारले अनुराेध छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१