close

छालाको अवस्था थाहा पाउन सकिने टूल सार्वजनिक गर्दै गुगल

टेकपाना टेकपाना

जेठ ५, २०७८ २१:३८

छालाको अवस्था थाहा पाउन सकिने टूल सार्वजनिक गर्दै गुगल

काठमाडौं । गुगलले मानिसको छाला, कपाल र नङबारे जानकारी दिने हेल्थ टूल निर्माण गर्ने घोषणा गरेको छ । यो वर्षको अन्त्यसम्ममा टूलको परीक्षण संस्करण सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।

आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्सको अवसर पारेर कम्पनीले यो घोषणा गरेको हो । यो अनलाइन टूलले प्रयोगकर्तालाई छालामा देखिएको दागदेखि नङ र कपालको अवस्थासम्म फोनबाटै जानकारी दिनेछ ।

छाला, नङ वा कपालमा कुनै समस्या देखिए प्रयोगकर्ताले उक्त क्षेत्रको तीन वटा फोटो आफ्नो फोनको क्यामेरा प्रयोग गरी खिच्न सक्ने छन् । त्यसपछि प्रयोगकर्ताले आफूलाई भइरहेको पीडा वा देखिएको लक्षणबारे जानकारी दिन सक्ने छन् ।

गुगलले तयार पार्ने टूलले प्रयोगकर्तालाई छाला, कपाल र नङको समस्याको जानकारी दिनको लागि आफूले तयार पारेको २ सय ८८ वटा अवस्थाको सूची दिनेछ । गुगलले आफ्नो ब्लग पोष्टमा उपचार गर्ने हेतुले टूलको विकास गरेको नभई प्रयोगकर्तालाई जानकारी दिने उद्देश्यले मात्रै यो तयार पार्न लागिएको जनाएको छ ।

प्रयोगकर्ताले गुगल सर्च ईन्जिनमा छाला सम्बन्धी धेरै प्रश्नहरु सोधिने गरेकाले प्रयोगकर्ताको समस्या समाधानको लागि कम्पनीले यो प्रयास थालेको गुगल हेल्थकी प्रमुख हेल्थ अफिसर करिन डेसाल्भोले जानकारी दिइन् ।

गुगलमा वार्षिक १० अर्ब भन्दा बढी पटक छालाको विभिन्न लक्षणलाई लिएर सर्च गरिन्छ । प्रयोगकर्तालाई उनीहरुको छाला, नङ वा कपालको अवस्था सामान्य हो वा थप उपचार गर्नुपर्छ भनेर जानकारी दिनको लागि यो टूल् विकास गर्न लागिएको गुगलले जनाएको छ ।

गुगलले छाला, कपाल र नङमा देखिने विभिन्न लक्षणका लाखौं तस्वीरहरु जम्मा गरेर टूललाई विकास गर्न लागेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१