काठमाडौं । इन्टरनेट सेवाप्रदायक क्लासिक टेकले काेराेना संक्रमितकाे सुविधाका लागि काठमाडाैं चन्द्रागिरि नगरपालिकास्थित वडा नं. ८ मा निर्मित आइसोलेसन केन्द्रमा उच्च गतिकाे इन्टरनेट निःशुल्क उपलब्ध गराएकाे छ ।
कोरोना भाइरस महामारी विरुद्ध लड्न निर्माण गरिएकाे याे आइसोलेसन केन्द्रमा रहेका व्यक्ति, चिकित्सक र अन्य कर्मचारीका लागि निःशुल्क इन्टरनेट सेवा प्रदान गरिएकाे हाे ।
सामाजिक अभियन्ता उत्तम कार्की तथा चन्द्रागिरि ८ का वडा अध्यक्ष सन्तोष खड्काको अभियानमा साथ दिन तथा सहयोगको रुपमा क्लासिक टेकले प्रशासनिक, बिरामी तथा परिवारजनको निम्ति निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी दिएकाे छ ।
नगरस्तरीय आइसोलेसन वडा नम्बर ८ मातातिर्थमा अवस्थित नवनिर्मित सामुदायिक अस्पताल भवनमा हाल ३० बेडको अक्सिजनसहित सेवा प्रवाह गरिएको छ ।
सो आइसोलेसन केन्द्रका लागि क्लासिक टेकले कर्पोरेट तहको उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराएको छ, जहाँ एकैपटकमा १०० जना सम्मले सजिलै इन्टरनेट सेवा उपयोग गर्न सक्नेछन् ।
आइसोलेसनमा रहेका संक्रमितहरुलाई घर परिवारसँग अनलाइनमा कुराकानी गर्न अवसर मिल्ने र कुरुवाहरुलाई समेत सहज बनाउने उद्देश्यले आइसोलेसन केन्द्रमा इन्टरनेट जडान गरिएकाे कम्पनीले जनाएकाे छ ।
सो केन्द्रमा कार्यरत डाक्टर, नर्स र सम्पूर्ण कर्मचारीहरुले क्लासिक टेकले निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएसँगै काम गर्न सहजता भएको र संक्रमितहरुलाई समय बिताउन सजिलो भएको बताएका छन् ।