close

नेपालसहितका देशमा एक लाख आईटी जनशक्ति उत्पादन गर्ने ह्वावेको योजना

टेकपाना टेकपाना

जेठ ७, २०७८ १४:५९

नेपालसहितका देशमा एक लाख आईटी जनशक्ति उत्पादन गर्ने ह्वावेको योजना

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले दक्षिण एसियाली मुलुकमा एक लाख डिजिटल जनशक्ति उत्पादन गर्ने घोषणा गरेको छ । शुक्रबार आयोजित भर्चुअल कार्यक्रममा ह्वावेका प्रवक्ताले नेपाल, बंगलादेश, श्रीलंका लगायतका देशमा एक लाख ‘डिजिटल ट्यालेन्ट’ विकास गर्ने जानकारी दिएका हुन् ।

सरकार, विश्वविद्यालय र औद्योगिक साझेदारहरूसँगको संयुक्त साथमा ह्वावेले यो योजना कार्यान्वयनमा ल्याउने उनले बताए ।

‘समावेशी डिजिटल समृद्धिको लागि ट्यालेन्ट ईकोसिस्टम उत्पादन ,’ शीर्षकमा आयोजित शिखर सम्मेलनमा तीन देशका मन्त्री र विद्वानहरू, युनेस्को, र आईसीटी उद्योगका विज्ञ र प्रतिनिधिहरू सहभागी थिए ।

डिजिटल सीपको अन्तरलाई कम गर्न र महामारीपछिकाे आर्थिक पुनर्प्राप्तिमा डिजिटल रूपान्तरणको सहजीकरणका लागि सहयोगी पहलहरूको अन्वेषण गर्न यो शिखर सम्मेलन आयोजना गरिएको हो ।

‘हामी विश्वास गर्छौं कि ट्यालेन्ट इकोसिस्टम आर्थिक पुनर्प्राप्ति र डिजिटल भविष्यको आधारशिला हो । यद्यपि डिजिटल सीपको अभाव धेरै देशका लागि ठूलो चुनौती हो ,’ शिखर सम्मेलनमा ह्वावे एसिया प्रशान्तका उपाध्यक्ष जे चेनले भने ।

उनले अगाडि भने, ‘आगामी पाँच वर्षमा ह्वावेले एक लाखभन्दा बढी आईसीटी जनशक्ति विकास र निर्माण गर्ने अपेक्षा राखेको छ । यस गतिशील क्षेत्रमा विशेषगरी बंगलादेश, श्रीलंका र नेपालमा एक जीवन्त डिजिटल ट्यालेन्ट इकोसिस्टम निर्माण गर्ने छाैं ।’

साे अवसरमा बाेल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि बस्यालले नेपाल सरकारले प्राविधिक विशेषज्ञहरूको रोस्टर बनाएर डिजिटल नेपाल अभियानलाई सफल बनाउन काम गरिरहेको बताए ।

सचिव बस्यालले डिजिटल रूपान्तरणले समाजमा निकै ठूलो परिवर्तन ल्याउने भन्दै युवालाई सीप सिकाउन महत्वपूर्ण हुने भनाइ राखे ।

काठमाडाैं विश्वविद्यालय, स्कुल अफ इञ्जिनियरिङका डिन प्राडा. मनिष पाेखरेलले महामारीले गर्दा धेरै चुनौतीहरूको सामना गर्नु परेको बताउँदै यसले ठूलै डिजिटल ग्याप सिर्जना भइरहेकाे भनाइ राखे ।

‘मेरो विचारमा एआई, बिग डेटाको पाठ्यक्रम स्कुलबाटै सुरु हुनुपर्छ र हामी यसमा काम गर्दैछौं । विश्वविद्यालय, उद्योग, सरकार र ह्वावेले प्रभावकारी डिजिटल ट्यालेन्ट इकोसिस्टम निर्माण गर्नका लागि सँगै आएकोमा म धेरै खुसी छु,’ उनले भने ।

साे अवसरमा बाेल्दै अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूले दिगो विकासको लागि डिजिटल सीपको अन्तर कम हुनुपर्नेमा जोड दिएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१