close

सबै स्वास्थ्यकर्मीलाई १ महिनासम्म टेलिकमको निःशुल्क मोबाइल सेवा

टेकपाना टेकपाना

जेठ ९, २०७८ १७:२६

सबै स्वास्थ्यकर्मीलाई १ महिनासम्म टेलिकमको निःशुल्क मोबाइल सेवा

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले स्वास्थ्यकर्मीहरुका लागि धन्यवाद स्वास्थ्यकर्मी अफर सार्वजनिक गरेको छ । कोभिड–१९ को महामारीमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत सबै स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न कम्पनीले यस्तो अफर ल्याएको हो ।

धन्यवाद सास्थ्यकर्मी अफर उपलब्ध गराउने विषयमा आइतबार नेपाल टेलिकम र नेपाल चिकित्सक परिषद, नेपाल नर्सिंंग परिषद, नेपाल फर्मासिष्ट परिषद, नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल आयुर्वेदिक परिषदबीच हस्ताक्षर सम्पन्न भएको छ । यसबाट उनीहरुमा थप हौसला प्रदान गर्ने टेलिकमको विश्वास छ ।

अफर अन्तर्गत देशभरका स्वास्थ्यकर्मीहरुले प्रयोग गरिरहेको आफ्नो नामको नेपाल टेलिकमको पोस्टपेड तथा प्रिपेड सिमकार्डमा एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराइने छ । जसबाट उनीहरुले आफ्नो मोबाइल नम्बरबाट नेपाल टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा गर्ने कल निःशुल्क हुनेछ ।

पोस्टपेड मोबाइलको हकमा भने नियमानुसार लागु हुने रेन्टल चार्ज भने कायमै रहने बताइएको छ ।स्वास्थ्यकर्मीहरुको सूची र मोबाइल नम्बरसहितको आधिकारिक पत्र स्वास्थ्यसँग सम्बन्धित परिषदहरुले आफ्नो लेटर हेडमा नेपाल टेलिकमलाई उपलब्ध गराए पश्चात यो अफर उपलब्ध गराइनेछ ।

स्वास्थ्यकर्मीहरुले आफ्नै नाममा रहेको सिम कार्डमा मात्र उल्लिखित अफर उपयोग गर्न पाउनेछन् । आफ्नो नाममा कम्पनीको सिमकार्ड नहुने स्वास्थ्यकर्मीहरुले नयाँ सिमकार्ड लिनका लागि सम्बन्धित परिषदको आधिकारिक लेटर प्याडमा स्वास्थ्यकर्मीको नाम तथा विवरण उल्लेख गरी नेपाल टेलिकमलाई उपलब्ध गराउनु पर्नेछ ।

यस अलावा स्वास्थ्यकर्मीको सम्बन्धित परिषदको परिचय पत्रका आधारमा नयाँ सिमका लागि भर्नुपर्ने फाराम नियमानुसार भरी नेपाल टेलिकमको नजिकको काउन्टरबाट तत्कालै निःशुल्क सिम प्राप्त गर्न सकिने छ । यसरी प्राप्त गरिने नयाँ सिममा उल्लिखित धन्यवाद स्वास्थ्यकर्मी अफर समावेश गरिनेछ ।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिने यो अफरको समयावधि कोरोना महामारीको अवस्था हेरी थप गर्न सकिने टेलिकमले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१