काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । बुधवार बिहानदेखि काठमाण्डाैसहित देशभर पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको हो ।
टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । तर समस्याको कारण पहिचान हुन नसक्दा समाधानमा ढिलाइ भइरहेको छ । मोबाइल सेवामा देखिएको समस्याका कारण देशभरका सेवाग्राही मर्कामा परेका छन् ।
यसअघि पनि बेला बेलामा टेलिकमको मोबाइल तथा इन्टरनेट सेवामा समस्या देखिँदै आएको छ । खासगरी टेलिकमको मोबाइल सेवामा आउने कल (इनकमिङ कल) मा समस्या देखिएको हो ।
Due to technical problems in core network, GSM voice network has not been working, technical team is working on it and will be functional ASAP. We apologize for the inconvenience caused to our valuable customers. Nepal Telecom,@ndcl_nt
— Dilli Adhikari (@dr4955) June 23, 2021
तर टेलिकमको भीओएलटीई-भीओएलटीई, भीओएलटीई-मोबाइल, मोबाइलबाट-एनसेल नेटवर्कमा भने कल लाग्ने गरेको छ । मोबाइल नेटवर्कमा हरेक ३० मिलि सेकेन्डमा प्रयोगकर्ताको लोकेसन अपडेट हुने गर्दछ । एचएलआर सिस्टममा समस्या आउँदा प्रयोगकर्ताको लोकेसन ट्रेस हुन नसकेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले जानकारी दिए ।
‘लोकेसन ट्रेस हुन नसक्दा मोबाइल नलाग्ने समस्या देखिएको हो,’ उनले भने, ‘समस्या देखिएसँगै प्राविधिक टिमले लगातार रुपमा समाधानको प्रयास गरिरहेको छ । सकेसम्म चाँडो नेटवर्क सुचारु हुने अपेक्षा गरिरहेका छौं । ‘
अपडेटः नेटवर्कमा समस्या आएको केही समयपछि टेलिकमको मोबाइल सेवा पुनः सुचारु भएको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६
