close

विण्डोज ११ मा एन्ड्रोइड एप चलाउन सकिने

टेकपाना टेकपाना

असार ११, २०७८ १५:३०

विण्डोज ११ मा एन्ड्रोइड एप चलाउन सकिने

काठमाडौं । बिहीवार माइक्रोसफ्टले विण्डोजको नयाँ भर्सन विण्डोज ११ आधिकारिक रूपमा घोषणा गरेको छ । कार्यक्रमको अन्त्यतिर माइक्रोसफ्टले एउटा आश्चर्यजनक घोषणा गर्‍यो । यसअन्तर्गत अब एन्ड्रोइड एपहरू विण्डोज ११ मा चलाउन सकिने भएको छ ।

कम्पनीले यो सुविधा गुगलसँग नभई अमेजन एप स्टाेरसँग साझेदारी गरेर ल्याउन लागेको हो । एन्ड्रोइड एप इन्टिग्रेसनको फिचरसम्बन्धी जानकारी दिँदै कम्पनीले एन्ड्रोइडका लागि विण्डोजको सबसिस्टम (डब्लूएसए) विकास गरेको उल्लेख गरेको छ । लिनक्सका लागि सबसिस्टम यसअघि नै विण्डोजमा उपलब्ध थियाे ।

एन्ड्रोइड एपको पनि व्यवस्थापन र प्रयाेग गर्ने धेरै तरिका विण्डाेज एपजस्तै हुने जनाइएकाे छ । कम्पनीका अनुसार आफूलाई मनपर्ने एपहरु लोकल्ली इन्स्टल गर्न र स्टार्ट मेन्यु वा टास्कबारमा इन्टिग्रेट गरेर प्रयोग गर्न सकिनेछ ।

अर्काे कुरा विण्डाेज ११ मा तपाईंकाे मनपर्ने एपहरु सबैको पहुँच भने पाउनुहुने छैन । अमेजन स्टोरले अहिले ४ लाख ६० हजार एपहरु मात्र प्रदान गर्छ । तर गुगलले भने ३० लाख ६० हजारको हारहारीमा एपहरु प्रदान गर्छ ।

विण्डोज ११ मा एन्ड्रोइड एपहरु चलाउन सकिने फिचर अमेजनको एप स्टोरसँग साझेदारी गरेर ल्याउन लागिएको हो । अहिलेको लोकप्रिय टिकटकजस्ता एन्ड्रोइड एपहरु पनि माइक्रोसफ्ट स्टोरमा सूचीबद्ध हुने जनाइएको छ ।

यद्यपि प्रयोगकर्ताहरूले मोबाइल एप इन्स्टल गर्न आफ्नो अमेजन अकाउन्टमा लगइन गर्नुपर्नेछ । एक पटक सेटअप भएपछि, एन्ड्रोइड एपहरु अन्य विण्डोज एपजस्तै समान रुपमा चल्छन् ।

विण्डोज ११ काे यस आश्चर्यजनक फिचरबारे तत्काल थप जानकारी दिइएकाे छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५