close

असारभित्र नवीकरण नगरे डिम्याट खाता रोक्का हुने

टेकपाना टेकपाना

असार १४, २०७८ १८:१

असारभित्र नवीकरण नगरे डिम्याट खाता रोक्का हुने

काठमाडौं । मर्चेन्ट बैंकहरूले आफ्ना हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नवीकरण गर्न आग्रह गरेका छन् । सूचना प्रकाशित गर्दै उनीहरूले नवीकरणका लागि समयसीमा ताेकेर वार्षिक शुल्क बुझाउन सेवाग्राहीलाई अनुरोध गरेका हुन् ।

डिम्याट खाताधनीले वर्षभरी सेवा लिएवापत सम्बन्धित निक्षेप सदस्यलाई १०० रुपैयाँ वार्षिक शुल्क बुझाउनुपर्ने व्यवस्था छ । यस्तै मेरो शेयर प्रयोगकर्ताले थप ५० रुपैयाँ शुल्क बुझाउनुपर्छ । ताेकिएकाे समयसीमा नवीकरण नगरे डिम्याट खाता राेक्का हुने उनीहरूकाे सूचनामा उल्लेख छ ।

डिम्याट खाताधनीले आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्य, सम्बन्धित बैंक, कनेक्ट आईपीएस, ईसेवा, खल्तीजस्ता डिजिटल वालेटबाट नवीकरण शुल्क भुक्तानी गर्न सक्नेछन् ।

सिद्धार्थ क्यापिटलले सूचना जारी गर्दै असार ३१ गतेभित्र वार्षिक शुल्क भुक्तानी तिर्न अनुराेध गरेकाे छ । कम्पनीले ईसेवा, आईएमई पे, प्रभु पे, कनेक्ट आईपीएस जस्ता विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने जनाएको छ ।

त्यस्तै एनआईबीएलएस क्यापिटलले पनि असार मसान्तभित्र डिम्याट खाता नवीकरण आग्रह गर्दै बैंकको थैली वालेट र मेरो सेयर प्रोफाइलमा गई विभिन्न विद्युतीय भुक्तानी माध्यममार्फत समेत शुल्क बुझाउन सकिने जनाएको छ ।

प्रभु क्यापिटलले प्रभु बैंक लिमिटेडको खातामा साउन १५ गतेसम्म वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ । डिम्याट तथा मेरो शेयर खाताको नवीकरण शुल्क मेरो शेयर तथा प्रभु पे, ईसेवा, खल्ती, कनेक्ट आईपीएस र आईएमई पे मार्फत पनि भुक्तानी गर्न सकिने क्यापिटलले जनाएको छ ।

त्यस्तै ग्लोबल आइएमई क्यापिटलले पनि आइएमई पे, ईसेवा, कनेक्ट आईपीएस वा ई-बैंकिङ सेवामार्फत नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ।

यसका साथै नेपाल एसबीआई मर्चेन्ट नेपाल बैंक, लक्ष्मी क्यापिटल, सनराइज क्यापिटल, आरबीबी मर्चेन्ट बैंक, कुमारी बैंक, सिभिल क्यापिटल, कृति क्यापिटल, बैंक अफ काठमाण्डू क्यापिटल लगायतले पनि नविकरण शुल्क बुझाउन सूचना प्रकाशित गरेका छन् ।

सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार हालसम्म ७२ संस्था निक्षेप सदस्यकाे रूपमा रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५