काठमाडौं । चीनको चर्चित सामाजिक सञ्जाल विच्याटले दर्जनौं एलजीबीटी (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) अकाउन्ट बन्द गरिदिएको छ । विश्वविद्यालयका विद्यार्थीले चलाउने एलजीबीटी अकाउन्ट बन्द भएपछि यससँग सम्बन्धित समूहहरुले विच्याटको विरोध गरेका छन् ।
यी अकाउन्टबाट एलजीबीटी समुदायकाे हकहितका लागि सामग्री पाेस्ट हुनुका साथै विद्यार्थीहरूले अन्तर्क्रिया गर्थे । विच्याटबाट डिलिट गरिएका केही एलजीबीटी ग्रुपहरू आफ्नो विश्वविद्यालयमा विद्यार्थी क्लबको रुपमा दर्तासमेत थिए भने अरू अनौपचारिक रूपमा सञ्चालित थिए ।
विच्याटले समलिङ्गी सामग्रीमा नियन्त्रण गर्न चालेकाे यो कदमपछि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूकाे अधिकारका लागि वकालत गर्ने समूहले विराेध गरेका हुन् । तर कतिपयले विच्याटको कदमलाई स्वागत पनि गरेका छन् ।
सन् १९९७ मा चीनमा समलिङ्गीसम्बन्धी कानून बनेपनि त्यहाँ यो समुदायले विभेदको सामना गरिरहेको छ । विशेषगरी चीनमा अझै पनि समलिङ्गी विवाह अवैध छ । एलजीबीटीका रूपमा चिनिने व्यक्तिले व्यक्तिगत र व्यावसायिक दुवै क्षेत्रमा विभेदको सामना गरिरहेका छन् ।
विच्याटले इन्टरनेटको नियम उल्लघंन गरेको भन्दै एलजीबीटीसँग सम्बन्धित कन्टेन्ट र अकाउन्ट बन्द गरिएको उल्लेख गरेको छ । ‘सान्दर्भिक गुनासोहरू प्राप्त भएपछि सबै सामग्री ब्लक गरिएको छ र अकाउन्टलाई सेवाबाहिर राखिएको छ,’ विच्याटकाे सूचनामा भनिएको छ ।
डिलिट हुने अकाउन्टमा रेनमिन विश्वविद्यालय, पेकिङ विश्वविद्यालय, कलर्सवर्ल्ड, फ्युडान विश्वविद्यालय लगायत चीनका चर्चित विश्वविद्यालयका विद्यार्थीहरूको कम्युनिटी एवं संगठन रहेका छन् ।