close

यी हुन् धेरैले रुचाएका १५ नेपाली एप्स

टेकपाना टेकपाना

मंसिर २८, २०७६ १५:५१

यी हुन् धेरैले रुचाएका १५ नेपाली एप्स

अहिलेको अवस्थामा स्मार्टफोन नेपालीहरुका लागि सामान्य भइसक्यो । दूरसञ्चार सेवाको पहुँचमा भएको विस्तारकै कारण अधिकांश नेपालीको हातमा स्मार्टफोन पुगेको छ । 

कल र एसएमएसका लागि मात्रै नभएर प्रविधिको विकासले मोबाइल अनेक कामका लागि उपयोगी बनिरहेको छ । समय तथा पात्रो हेर्ने, गीत सुन्ने, भिडियो हेर्ने विषय मोबाइलका सामान्य फिचर भइगए । सामाजिक सञ्जाल, म्यासेजिङ एप, गेम, अनलाइन भिडियो लगायतका लागि अन्तर्राष्ट्रिय रुपमा अनेक एपहरु उपलब्ध छन् । नेपालीहरुको दैनिकी सहज बनाउन मौलिक नेपाली एपहरु विकास गर्ने क्रम समेत पछिल्लो समय ह्वात्तै बढेको छ । 

सम्झिनुहोस् त, तपाईंको मोबाइलमा नेपाली एप कति छन् ? संभवतः कुनै न कुनै नेपाली एप तपाईंको मोबाइलमा भएकै हुनुपर्छ । यस हिसावले पछिल्लो समय नेपाली एपको प्रयोग तथा लोकप्रियता बढ्दै गएको छ । केही नेपाली एपको डाउनलोड संख्या ५० लाख नाघ्नुले समेत त्यसलाई पुष्टि गर्छ ।

आज हामी तपाईंहरुलाई डाउनलोड तथा इन्स्टल संख्या र प्रयोगकर्ताले गरेको रेटिङका आधारमा नेपालीहरुले सर्वाधिक रुचाएका उत्कृष्ट १५ नेपाली एप्सको विषय यहाँ पस्किन गइरहेका छौँ । 

१. हाम्रो पात्रो

हाम्रो पात्रो सर्वाधिक रुचाइएको र प्रयोग भइरहेको नेपाली एपहरुको पहिलो नम्बरमा छ । ५० लाखभन्दा बढी पटक डाउलोड पुरा यो नेपालकै पहिलो मोबाइल एप समेत हो ।

यो एपको उपयोगिताका लागि यसको नाम मात्रै काफी छैन । अर्थात यो एप नेपाली तिथि-मिति, विदा, मिति परिवर्तन, शुभ साइत, जोतिषका लागि मात्रै नभएर देशभरका रेडियो, समाचार, शेयरबजार, बिनिमयदर, सुन तथा चाँदीदेखि तरकारीको बजार भाउ लगायतका हिसावले बहुउपयोगी छ ।

त्यसमाथि प्रायः हरेक अपडेटमा थप नयाँ नयाँ फिचर तथा सुविधा ल्याउने मामिलामा समेत हाम्रो पात्रोको टिम तल्लिन छ । हाम्रो पात्रोले ५ मा ४.६ रेटिंग पाएको छ । जुन आफैमा ग्राहकले यसप्रति देखाएको रुचीको विषय हो ।

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

२. हाम्रो किबोर्ड

हाम्रो पात्रोकै समूहले निर्माण गरेको एप हाम्रो किबोर्ड सर्वाधिक मन पराइएको दोश्रो नेपाली एप हो । हालसम्म ५० लाख डाउनलोड कटाउने नेपाली एपहरुमा हाम्रो पात्रो र हाम्रो किबोर्ड गरी दुई ओटा मात्रै छन् । मोबाइलमा नेपाली भाषामै युनिकोडमा टाइप गर्न मिल्ने र छिटो टाइप गर्न सघाउने हिसावले टाइप गर्न खोजिएको संभावित शब्द सुझाउने लगायतको फिचरका कारण यो एप नेपालीहरुको रोजाइमा परेको हो । यो एपले ५ मा ४.३ रेटिंग अङ्क बटुल्न सफल भएको छ ।

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

३. नेपाली पात्रो

हाम्रो पात्रोको विकल्पको रुपमा रहेको नेपाली पात्रो धेरै डाउनलोड हुने र रुचाइने नेपाली एपहरुको लिस्टमा तेश्रो नम्बरमा परेको छ । नेपाल र नेपालीसँग सम्बन्धित सम्पुर्ण तिथि, मिति, चाडपर्व, दिवसहरुका साथै शुभसाइत, पञ्चांग, राशिफल, विनिमयदर, समाचार, लगायतका लागि यो एप उपयोगी छ । १० लाख पटक डाउनलोड तथा इन्स्टल भएको यो एपले ५ मा ४.५ रेटिंग प्राप्त गर्न सफल भएको छ । 

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

४. इङ्गलिस नेपाली डिक्सनरी

सर्वाधिक रुचाइएको नेपाली एपहरुको सूचीमा इङ्गलिस नेपाली डिक्सनरी चौथो स्थानमा छ । नामजस्तै अंग्रेजी शब्दको नेपाली अर्थ पत्ता लगाउने कार्यका लागि उपयोगी यो एपमा नेपाली शब्दको अंग्रेजी अर्थ बताउने, स्क्यान तथा आवाजबाट शब्द पहिचान गरी अंग्रेजी तथा नेपाली अर्थ पत्ता लगाउने, शब्द ज्ञानका लागि गेम, त्यसको उच्चारण लगायतका फिचरका कारण यो एप नेपालीहरुको रोजाइमा पर्दै आएको छ । १० लाख पटक डाउनलोड भइसकेको यो एपले ५ मा ४.५ रेटिंग अंक प्राप्त गरेको छ । 

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

५. हाम्रो डिक्सनरी

१० लाख डाउनलोडका साथ हाम्रो डिक्सनगरी सर्वाधिक रुचाइएका नेपाली एपहरुको पाँचौँ स्थानमा पर्न सफल भएको छ । हाम्रो पात्रोको टिमले विकास गरेको यो एप नेपाली शब्दको अंग्रेजी अर्थ तथा नेपाली शब्दको अंग्रेजी शब्द थाहा पाउन साथै शब्द ज्ञान सम्बन्धि गेम, अंग्रेजी भाषा सिकाई, शब्दको उच्चरण लगायतका लागि उपयोगी छ । यो एपको रेटिंग ५ मा ४.४ रहेको छ ।

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

६. ई-सेवा

नेपालकै पहिलो मोबाइल वालेट तथा अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी ई सेवा सर्वाधिक रुपचाइएका नेपाली एपहरुको सूचीमा छैटौँ नम्बरमा छ । यो एपबाट मोबाइल, टेलिफोन, इन्टरनेट तथा टीभीको रिचार्ज, खानेपानी तथा बिजुलीको बिल, हवाई टिकट लगायतको अनलाइन भुक्तानीका लागि निकै उपयोगी छ । नेपालमा अनलाइन भुक्तानीप्रति विश्वास जगाउने र बानी पार्ने कार्यमा अग्रणी भुमिकामा रहेको यो एपको डाउनलोड १० लाख कटेको छ भने रेटिंग ४.२ रहेको छ । 

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

७. टाइप नेपाली

यो एप लोकप्रिय नेपाली एपहरु मध्ये सातौँ स्थानमा छ । १० लाखपटक डाउनलोड भएको यो एप मोबाइलमा युनिकोडमा नेपाली टाइप गर्नका लागि उपयोगी छ । राम्रो किबोर्डको प्रतिस्प्रर्धी एपको रुपमा देखा परेको टाइप नेपाली किबोर्डले समेत ४.२ रेटिंग बटुलेको छ । 

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

८. एनसेल

देशकै सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेल सर्वाधिक डाउनलोड हुने नेपाली एपहरुको बीचमा आठौँ स्थानमा छ । १० लाखले डाउनलोड गरेको यो एपबाट एनसेलको रिचार्ज, एसएमएस, भ्वाइस तथा डेटा प्याकेज खरीद गर्न, बाँकी रहेको ब्यालेन्स तथा प्याक, कल सिस्ट्रि, एनसेल सेन्टरको म्याप लगायतको जानकारी लिन उपयोगी छ । यसले ५ मा ३.८ को औषत रेटिंग पाएको छ । 

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

९. रिचार्ज कार्ड स्क्यानर

१० लाख लाउनलोड कटाउने थोरै नेपाली एपहरुमध्ये एक हो रिचार्ज कार्ड स्क्यानर । एनसेल तथा नेपाल टेलिकमको पिन नम्बर मोबाइलमा डायल गरी मोबाइल रिचार्ज गर्नुपर्ने बाध्यताबाट मुक्ति पाउने कार्यमा सहयोगी बनेकै कारण यो नेपाली एपहरुमध्येमा नवौँ स्थानमा पर्न सफल भएको हो ।

यो एपले रिचार्जमा रहेको पिन नम्बर स्क्यान गरी मोबाइल रिचार्ज प्रक्रियालाई सहज बनाउने गर्दछ । त्यसका साथै यो एपबाट मोबाइल डाटा खरीद गर्न, ब्यालेन्स ट्रान्सफर गर्न र महत्वपुर्ण टेलफोन नम्बर थाहा पाउन समेत सकिन्छ । यसले सर्वाधिक डाउनलोड हुने नेपाली एपहरुमध्येकै राम्रो रेटिंग (५ मा ४.६) बटुलेको छ ।

मोबाइल सेवा प्रदायक कम्पनी स्वयमले आफ्नै एपमा यो फिचर दिन थालेको र रिचार्ज कार्डको साटो मोबाइल बैंकिंग तथा डिजिटल वालेटको प्रयोग बढ्दो क्रममा रहेकाले यो एपलाई लोकप्रियता कायम राख्न चुनौतिपुर्ण देखिन्छ ।

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

१०. आईएमई पे

मोबाइल वालेट तथा भुक्तानी सेवा प्रदायक आईएमई पेको मोबाइल एप सर्वाधिक रुचाइने नेपाली एपहरुमध्ये दशौँ स्थानमा परेको छ । ५ लाख पटक डाउनलोड भएको यो एपले ४.५ रेटिंग बटुलेको छ । ई सेवा जस्तै विभिन्न सेवाहरुको भुक्तानी तथा विशेष गरी पेट्रोल पम्पको भुक्तानीका लागि यो एप प्रशिद्ध बन्दै गएको छ । 

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

११. लर्न इङ्गलिस इन नेपाली

चर्चित नेपाली एपहरुको ११ औँ स्थानमा ‘लर्न इङ्गलिस इन नेपाली’ एप परेको छ । ५ लाख पटक डाउनलोड भएको यो एपले नेपाली भषामै अंग्रेजी सिक्न सहजता प्रदान गरेको छ । यसले ५ मा ४.४ को उत्कृष्ट रेटिंग प्वाइन्ट बनाएको छ ।

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

१२. नेपाली न्युज न्युजपेपर्स नेपाल

यो एप सर्वाधिक रुचाइएका नेपाली एपहरुको सूचीमा १२औँ स्थानमा पर्न सफल भएको छ । पाँच लाख भन्दा बढी पटक डाउनलोड भइसकेको यो एपमा खासगरी विभिन्न राष्ट्रिय दैनिक पत्रिकाहरुका अनलाइनका वेब लिंकहरु एकै स्थानमा राखिएको छ । छुट्टा छुट्टै वेबसाइट खोलेर समाचार पढ्न झञ्जट लाग्नेहरुका लागि यो एउटा सहज विकल्पको रुपमा रहेको छ । यसले ४.३ रेटिंग प्वाइन्ट बटुलेको छ । 

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

१३. इङ्गलिस टु नेपाली ट्रान्सलेटर 

अंग्रेजीलाई नेपाली भाषामा अनुवादन गर्नका लागि प्रयोग हुने यो एप लोकप्रिय नेपाली एपहरुमध्ये १३ औँ स्थानमा पर्न सफल भएको छ । पाँच लाखभन्दा बढी पटक डाउनलोड भएको यो एपको रेटिंग ४.१ प्वाइन्ट रहेको छ । 

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

१४. ईकान्तिपुर

देशकै सबैभन्दा ठूलो मिडिया हाउसको रुपमा रहेको कान्तिपुर मिडिया ग्रुपको मोबाइल एप ईकान्तिपुर सर्वाधिक लोकप्रिय नेपाली एपहरु मध्ये १४ औँ स्थानमा छ । ग्रुप अन्तरगतका ईकान्तिपुर अनलाइन, कान्तिपुर दैनिक, साप्ताहिक, काठमाण्डुपोष्ट, शुक्रबार, कोसेली, नारी, कान्तिपुर टेलिभिजन, कान्तिपुर एफएम लगायतका सबै समाचार हेर्नका लागि यो एप उपयोगी छ । पाँच लाख पटक डाउनलोड गरिएको यो एपको रेटिंग भने ३.९ रहेको छ । जुसलाई औषत मान्न सकिन्छ । 

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

१५. खल्ती

डिजिटल मोबाइल वालेट कम्पनी खल्तीको मोबाइल एप चर्चित नेपाली एपहरुको सूचीमा १५ औँ स्थानमा परेको छ । ई सेवा, आईएमई पे जस्तै विभिन्न किसिमको अनलाइन भुक्तानीमा उपयोगी यो एपको प्रयोग पछिल्लो समय तीब्र रुपमा विस्तार भइरहेको छ । पाँच लाखभन्दा बढी पटक डाउनलोड भइसकेको यो एपको रेटिंग ३.८ रहेको छ । 

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३