close

पेटेन्ट विवादमा सवा ८ खर्ब तिर्नुपर्ने भएपछि बेलायत छोड्ने एप्पलको चेतावनी

टेकपाना टेकपाना

असार २९, २०७८ १९:५६

पेटेन्ट विवादमा सवा ८ खर्ब तिर्नुपर्ने भएपछि बेलायत छोड्ने एप्पलको चेतावनी

काठमाडौं । बेलायतमा आफ्नो पेटेन्टमाथि विवाद उत्पन्न भएपछि एप्पलका वकिलहरूले स्थिति यस्तै रहेको खण्डमा कम्पनीले बेलायत छोड्न सक्ने चेतावनी दिएका छन् । बेलायतको पेटेन्ट होल्डर अप्टिस सेलुलर टेक्नोलोजीले एप्पलले आईफोनमा आफ्नो पेटेन्ट प्रयोग गरेको भन्दै त्यस वापत लाइसेन्स शुल्क दाबी गरेको छ ।

लाइसेन्सका लागि मागिएको करिब सात अर्ब अमेरिकी डलर अर्थात आठ खर्ब ३३ अर्ब रुपैयाँभन्दा बढी रकम एप्पलले नदिने बताएपछि कम्पनीले मुद्दा हाल्ने चेतावनी दिएको छ । गत महिना बेलायतको उच्च अदालतका एक न्यायाधीशले एप्पलले आफ्ना डिभाइसलाई सेलुलर नेटवर्कसँग कनेक्ट गराउन अप्टिसका दुई ओटा पेटेन्ट प्रयोग गरेर नियम उल्लंघन गरेको निर्णय सुनाएका थिए ।

एप्पलले लाइसेन्स नलिएरै आफ्ना अन्य पेटेन्ट समेत प्रयोग गरेको अप्टिसको आरोप छ । अप्टिसका वकिल क्याथलिन फक्स मर्फीले भने ‘बजारमा सबैको नजरमा एप्पलका स्मार्टफोनहरू उत्कृष्ट मानिन्छन् । तर वास्तविकता भनेको एप्पलले आफ्ना फोनमा प्रविधि प्रयोग गरे वापत पैसा तिर्नुपर्छ ।’

अप्टिस सेलुलर टेक्नोलोजीका भगिनी संस्थाहरू प्यानअप्टिस, अप्टिस वायरलेस टेक्नोलोजी, अनवायर्ड प्लानेट र अनवायर्ड प्लानेट इन्टरनेसल पेटेन्टहरू बेचेर आम्दानी गर्ने कम्पनीहरू हुन् । गत वर्ष पनि टेक्सासको अदालतले एप्पललाई प्यान अप्टिसको फोरजी एलटीई प्रविधिसँग सम्बन्धित पेटेन्टको नियम उल्लंघन गरेको आरोपमा ५०.६ करोड अमेरिकी डलर जरिवाना तिराएको थियो ।

हाल बेलायती अदालतमा एप्पलले अप्टिसलाई कति जरिवाना तिर्ने भन्ने विषयमा बहस भइरहेको छ । गत वर्ष मात्र बेलायती अदालतले एप्पलले विश्वभरबाट प्रयोग भएका पेटेन्टहरूको पैसा तिर्नुपर्छ भन्ने निर्णय गरेको थियो ।

तर एप्पलले बेलायती बजार छोडेको हकमा भने कम्पनीले जरिवाना तिर्नु नपर्ने हुनसक्ने भनाई पनि रहेको छ । गत वर्षको अदालती सुनुवाइको बेला बेलायती न्यायाधीश मेइडेले अदालतको फैसलाबाट एप्पल निराश हुन सक्ने भन्दै उसले जरिवानाबाट बच्नको लागि बेलायत नै छोड्ने निर्णय समेत लिनसक्ने संकेत दिएका थिए ।

यद्यपि उनले कम्पनीलाई यसो नसोच्न पनि सुझाएका थिए । ‘यदि एप्पलले अदालतले तोकेको निर्णय व्यवसायिक रुपमा स्वीकार गर्न नसक्ने भएमा कम्पनीसँग बेलायत छोड्नुको बाहेक अरु विकल्प रहँदैन,’ एप्पलका वकिल मारी डेमेट्रिओले भनेका छन् । यसको अर्थ एप्पलले बेलायती बजारबाट आफ्नो बिक्रीवितरण रोक्न पनि सक्छ ।

म्याकरुमर्स

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३