काठमाडौं । पछिल्लो समयमा ह्वाट्सएप, भाइबरजस्ता सामाजिक सञ्जालका प्रयोगकर्तालाई २५ लाखकाे लट्री परेको भन्दै फोन र म्यासेज आउने गरेका छन् । हालै एनसेल आजियाटाले सञ्चालन गरेको लक्की ड्रमा २५ लाख जितेको भन्दै सामाजिक प्रयोगकर्तालाई फोन गरी प्रलोभनमा पार्ने गतिविधि भएको पाइएको छ ।
फेक कल र म्यासेज आउन थालेपछि ग्राहकहरुले एनसेललाई गुनासो टिपाएका छन् । यस्ता कलमा दाबी गरिएको जस्तो कुनै पनि लट्री वा पुरस्कार योजना सञ्चालन नगरेको भन्दै गलत र भ्रामक सन्देश वा कलबाट सतर्क रहन एनसेलले आग्रह गरेको छ ।
‘एनसेलको नाम लिँदै ग्राहकहरुलाई ह्वाट्सएप, भाइबरजस्ता एपबाट कल गरी लट्री/चिट्ठामा २५ लाख जितेको भन्ने गलत सूचना प्रदान गरी उक्त रकम लिन आफ्नो बैंक अकाउन्टको विवरण उपलब्ध गराउन भन्दै भ्रामक सन्देश आएको भन्ने गुनासोप्रति यस कम्पनीको ध्यानाकर्षण भएको छ,’ एनसेलले जारी गरिएको सूचनामा उल्लेख छ ।
कम्पनीले आफ्ना ग्राहकलाई जानकारीहरु प्रदान गर्न सधैं एनसेलको आधिकारिक नम्बरबाट कल गर्ने भएकाले अन्य नम्बरबाट एनसेलको नाम लिँदै आउने कल वा सन्देशलाई विश्वास नगर्न अनुरोध गरेको छ ।
साथै आफ्नो कुनै पनि व्यक्तिगत विवरण जस्तै; बैंक खाता नम्बर, पासवर्ड वा अन्य निजी विवरणको जानकारी कसैलाई पनि प्रदान नगर्न सूचनामार्फत् आग्रह गरिएको छ ।
‘एनसेलका योजना वा अन्य अफरको लागि एनसेलको आधिकारिक वेबसाइट वा समाजिक सञ्जालबाट सूचना लिनुहुन अनुरोध गर्दछौं । गलत तथा भ्रामक सन्देश वा कलको प्रभावमा परी उत्पन्न हुनसक्ने परिणाममा कम्पनी जिम्मेवार नहुने कुरा जानकारी गराउँदछौं,’ सूचनामा भनिएकाे छ ।