close

ग्लोबल इन्टरनेटबाट आफैं छुट्टिँदै रुस, सफल भयो परीक्षण

टेकपाना टेकपाना

साउन ९, २०७८ १८:१४

ग्लोबल इन्टरनेटबाट आफैं छुट्टिँदै रुस, सफल भयो परीक्षण

काठमाडौं । रुसले आफूलाई विश्व इन्टरनेट नेटवर्कबाट आफूलाई विच्छेद गर्न सफल भएको छ । गत जुन र जुलाईमा भएको परीक्षणमा रुसले ग्लोबल इन्टरनेटबाट आफूलाई ‘डिसकनेक्ट’ गर्न सफल भएको भन्दै बिहीबार आरबीसी डेलीले एक रिपोर्ट प्रकाशित गरेको छ ।

रुसको इन्टरनेट सुरक्षामा सुधार ल्याउने उद्देश्यसहित त्यहाँकाे सरकारले यो प्रयास गरेको सो रिपोर्टमा उल्लेख छ । आरबीसी डेलीका अनुसार यो परीक्षण जून १५ देखि जुलाई १५ सम्म गरिएको थियो ।

सो अवधिमा रूसले भौतिक रुपमा आफ्नो नेटवर्कलाई विश्वव्यापी इन्टरनेटबाट विच्छेद गरेको थियो, जसमा उ सफल भएको दाबी गरिएको छ । रूसले लामो समयदेखि इन्टरनेटको अधिक संरचनालाई राष्ट्रिय नियन्त्रणमा ल्याउन काम गरिरहेको छ ।

हाल विश्वमा नियमित इन्टरनेट विकेन्द्रीकृत छ र कुनै राज्य वा संस्थाको एकल नियन्त्रणमा छैन । देशअनुसार इन्टरनेट कसरी प्रयोग गर्ने र प्रतिबन्ध कसरी गर्ने भन्ने विषय कठिन छ । इन्टरनेटमा केही वेबसाइट वा काममा प्रतिबन्ध लगाउने कानून प्रायः अन्य देशले पनि ल्याएका छन् ।

२०१९ मा रूसले सार्वभौम इन्टरनेट कानून लागू गरेपछि यसले सरकारलाई ग्लोबल इन्टरनेटबाट विच्छेद गर्न शक्ति प्रदान गर्‍यो । यसअनुरूप रूसी सरकारले विश्वकाे इन्टरनेट नेटवर्कबाट विच्छेद गरी सार्वभाैम नेटवर्क निर्माण गरेकाे हाे ।

हालै आरबीसीले सरकारी स्रोतलाई उल्लेख गर्दै रिपोर्ट प्रकाशन गरेपनि समाचार एजेन्सी रोयटर्सले भने यो परीक्षण कति लामो समयसम्म चल्यो र यसले रुसी नागरिकलाई कस्तो प्रभाव पार्‍याे भन्ने विषय अस्पस्ट रहेको उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५