close

विन्डोज ११ का लागि एसुसले सार्वजनिक गर्‍यो स्वचालित टीपीएमसहितको बायोस अपडेट

टेकपाना टेकपाना

साउन २१, २०७८ १८:२

विन्डोज ११ का लागि एसुसले सार्वजनिक गर्‍यो स्वचालित टीपीएमसहितको बायोस अपडेट

काठमाडौं । विन्डोज ११ का लागि एसुसले आफ्नो मदरबोर्डलाई तयार पार्ने काम गरिरहेको छ । मदरबोर्ड उत्पादकले थुप्रै किसिमका चिपसेटका लागि बायोस अपडेट सार्वजनिक गरेको छ ।

जसमध्ये एउटा सन् २०१७ यताका इन्टेल केबी लेक प्रोसेसरको सपोर्ट समेत रहेको छ । इन्टेल र  एएमडी दुवै चिपसेटमा सपोर्ट गर्ने यो नयाँ बायोस अपडेटले एएमडी तथा इन्टेल सिस्टममा स्वचालित किसिमले टीपीएम (ट्रस्टेड प्लेटफर्म मोड्युल) इनेबल गर्न सक्छ ।

विन्डोज ११ का लागि टीपीएम न्यूनतम आवश्यकताको रुपमा रहेको छ । यसले गर्दा कतिपय प्रयोगकर्ताले आफ्नो पीसीमा बायोस अपडेटको अप्सन नरहेको अनुभूति गरेका थिए ।

साथै बायोसको सेटिङमा रहेको पीटीटी (PTT) तथा पीएसपी एफटीपीएम  (PSP fTPM) नामले समेत धेरैलाई दुबिधामा पारेको थियो । माइक्रोसफ्टको विन्डोज ११ अपग्रेड ट्रयाकरले सुरुवाती समयमा यस किसिमको दुबिधालाई सम्बोधन गर्न सकेको थिएन ।

त्यसैले नै एसुस जस्तो ठूलो उत्पादकले बाइ डिफल्ट रुपमा टीपीएम इनेबल गरेर प्रयोगकर्ताको झन्झट कम गर्ने उपाय निकालेको हो । त्यसो त एसुसले विन्डोज ११ का लागि थुप्रै प्रकारका मदरबोर्डमा सपोर्टको  योजना समेत बनाइरहेको छ ।

यसको अर्थ सबै बायोस अपडेट तुरुन्तै उपलब्ध हुने भन्ने कुरा चाहिँ होइन । नियोविनले विन्डोज ११ का लागि कम्प्याटिबल एसुस मदरबोर्डको सम्पूर्ण सूची नै बाहिर ल्याएको छ ।

त्यसैले तपाईंले आफ्नो सिस्टम यस किसिमको अपडेटको पर्खाइमा रहेको जाँच गर्न सक्नुहुन्छ । यदि तपाईंले पहिले नै बनेर आएको कम्प्युटर खरिद गर्नु भएको हो र त्यसभित्र ठ्याक्कै कुन मदरबोर्ड छ भन्ने कुरामा निश्चिन्त हुनुहुन्न भने तपाईंले त्यसको मोडल नम्बर पत्ता लगाउन सक्नुहुन्छ ।

यसका लागि विन्डोज १ मा स्टार्ट>रन>msinfo32 मा अगाडि बढ्नुहोस् । विन्डोज ११ का लागि आफ्नो मदरबोर्डमा सपोर्ट उपलब्ध गराउने कम्पनीमा एसुस एक्लो भने होइन । गिगाबाइट, एसरक, बायोस्टारएमएसआईले विन्डोज ११ मा काम गर्न सक्ने सपोर्ट सिस्टमको सूची सार्वजनिक गरिसकेका छन् ।

विन्डोज १० प्रयोगकर्ताका लागि विन्डोज ११ को निःशुल्क अपग्रेड कहिलेसम्म आउँछ भन्ने कुरा स्पष्ट रुपमा तय भइसकेको छैन । माइक्रोसफ्टले अक्टोबरका लागि रिलिज मिति तय गरेको संकेत मात्र दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१