काठमाडौं । काठमाडौं महानगरपालिकाले गत वर्षदेखि नै अनलाइनबाट कर तिर्ने सुविधा सञ्चालनमा ल्याएको छ । सेवाग्राहीले आफ्नो वडा कार्यालयमा गएर राजस्व सफ्टवेयरमा आफ्नो सम्पत्ति तथा व्यवसायको विवरण प्रविष्ट गराएर करदाता संकेत नम्बर लिनुपर्ने हुन्छ ।
तर गत वर्ष सफ्टवेयरबाट कर बुझाइसकेको भए रसिदबाट समेत करदाता संकेत नम्बर र आन्तरिक संकेत नम्बर लिन सकिन्छ । यति गरिसकेपछि यहाँ क्लिक गरी महानगरको अनलाइन पोर्टलमा जानुहोस् । त्यसपछि ‘नयाँ प्रयोगकर्ता ? यहाँ दर्ता गर्नुहोस्’ लेखिएको स्थानमा क्लिक गर्नुहोस् ।
अब करदाता पोर्टलमा उपलब्ध फाराम भर्नुहोस् । तपाईंको ई-मेल वा मोबाइल नम्बरमा आएको ओटीपी कोड करदाता पोर्टलमा राख्नुहोस् । आफ्नो सुरक्षित पासवर्ड राखेर ‘दर्ता गर्नुहोस्’ लेखिएको स्थानमा क्लिक गर्नुहोस् ।
पुनः तपाईंको फोन वा ई-मेल आईडीमा प्राप्त भएको ओटीपी कोड राखेर ‘पेस गर्नुहोस्’ लेखिएको स्थानमा क्लिक गर्नुहोस् । अब लग ईन गर्नको लागि युजर नेमको ठाउँमा नयाँ आन्तरिक संकेत राख्नुहोस् र पासवर्ड राखेर अगाडि बढ्नुहोस् ।
लग ईन गरिसकेपछि ‘करदाता’मा हुँदै ‘भुक्तानी’मा गर्नुहोस् । अब कर तिर्नका लागि ई-सेवा, कनेक्ट आईपीएस, फोन-पे, खल्ती आदि मध्ये आफूले चाहे अनुसारको सेवा प्रदायक छनौट गर्नुहोस् र त्यसमा लग ईन गरी भुक्तानी सुनिश्चित गर्नुहोस् ।
यदि यो प्रणालीमा कुनै समस्या देखिएको खण्डमा यहाँ क्लिक गरी ई-मेल गर्न तथा ०१-५३६७३९० वा ९८५१०४५०८८ मा फोन गर्न सकिने महानगरले जनाएको छ । यसका साथै यहाँ क्लिक गरेर यो सिस्टम सम्बन्धी जिज्ञासा मेट्न समेत सक्नुहुनेछ ।