close

यस्तो देखियो नेपाली स्याट–१ ले लिएको फोटो

टेकपाना टेकपाना

पुस १, २०७६ १५:१८

यस्तो देखियो नेपाली स्याट–१ ले लिएको फोटो

कार्यालयमा उक्त भू–उपग्रहको ग्राउण्ड स्टेशन तयार भएसँगै पहिलो पटक तीन तस्वीर लिन सफल भएको नास्टका प्रविधि संकाय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार सार्वजनिक भएको यो फोटो करिब एक महिना अघि खिचिएको हो ।

नेपालको पहिलो भू–उपग्रह नेपाली स्याट–१ ले लिएको फोटो सार्वजनकि भएको छ । उक्त फोटोमा भुटान, बंगलादेशको ढाका तथा भारतका आसाम, दाजिर्लिङ र सिक्किम लगायतको भुभाग समेटिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले जनाएको छ ।

नास्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या भएका कारण अहिले सार्वजनिक भएको फोटो नेपालको सिस्टमबाट लिइएको भने होइन। यो फोटो नेपाली स्याट–१ ले लिएको जानकारी जापानस्थित क्यूटेक विश्वविद्यालयले दिएको ढकालले स्पष्ट पारे ।

उनका अनुसार रेडियो उपकरणमा समस्या आउँदा नेपाली स्याट–१ मार्फत नेपालमाथिको आकाशबाट भने ठ्याक्कै तस्बिर लिन सकिएको छैन । भू–उपग्रह नेपाली आकाश भएर जाने समयमा सिस्टममा समस्या आएका कारण नास्टले रेडियो उपकरणसँग कनेक्ट गर्न सकेन ।

नेपालले गएको ४ वैशाखमा नेपाली स्याट–१ नामक भूउपग्रह प्रक्षेपण गरेको थियो । जसमार्फत गएको साउनमा नास्टले नेपाली स्याट–१ ले लिएको सूर्य र पृथ्वीका साथै चीन र भारत सिमानाका तस्बिर सार्वजनिक गरेको थियो । तर, उक्त भूउपग्रहमा ५ मेगापिक्सेलको क्यामरा जडान गरिएकाले फोटो भने धमीलो आउने गरेको ढकालले बताएका छन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३