काठमाडौं । एक सय ४० देशका १० हजारभन्दा बढीको सामाजिक सञ्जाल अकाउन्ट नयाँ एन्ड्रोइड ट्रोजनको शिकार बनेका छन् । साइबर सुरक्षा कम्पनी जिम्परियमले सोसल मिडिया हाइज्याकिङ, थर्ड पार्टी एप स्टोर र साइडलोडेड एप्लिकेसनमार्फत यो ट्रोजन भाइरस फैलिएको भन्दै हालै एक रिपोर्ट सार्वजनिक गरेको छ ।
यो आक्रमण गत मार्चदेखि नै सुरु भएको जिम्परियमले जनाएको छ, जसअन्तर्गत सबैभन्दा पहिले फेसबुक अकाउन्टबाट ट्रोजन फैलाइएको थियो ।
‘यी हाइज्याक गरिएका सामाजिक सञ्जालमा प्रयोगकर्ताको विश्वासनीयताको दुरुपयोग गर्दै विभिन्न व्यक्तिलाई म्यासेजमार्फत ट्रोजनयुक्त लिंक पठाएर मालवेयर फैलाउन सकिन्छ,’ जिम्परियमका अनुसन्धानकर्ताहरुले भनेका छन, ‘पीडितको लोकेसन र विवरण गलत सूचना फैल्याउने अभियानमा समेत प्रयोग हुनक्छ ।’
यी सोसल इन्जिनियरिङ प्रविधिहरु डिजिटल युगमा धेरै प्रभावकारी बनिरहेकाे साइबर अपराधीद्वारा प्रायः एकबाट अर्को पीडितमा मालवेयर फैलाउनका लागि प्रयोग गरिरहेकाे उनीहरूले बताएका छन् ।
‘उनीहरुले फ्री नेटफ्लिक्स कुपन कोड, गुगल एडवर्ड्स कुपन कोड र बेस्ट फुटबल टिम अथवा प्लेयरलाई भोट गर्न अपिल गर्ने लगायतका विषय समावेश गरी प्रयोगकर्ताहरुलाई आकर्षित गर्ने गरेको देखिएको छ,’ जिम्परियमले उल्लेख गरेकाे छ ।
अनुसन्धानर्ताहरूले भियतनामी समूह यस आक्रमणको जिम्मेवार हुनसक्ने अनुमान गरेका छन् ।
उनीहरुले गुगल प्ले र अन्य एप स्टोरहरुको उपयोग गरी आक्रमण फैलाउन सफल भएको जनाइएको छ । त्यसैका आधारमा खोजकर्ताहरुले गुगललाई यसबारे जानकारी गराएका थिए ।
मालवेरसम्बन्धी उक्त रिपोर्टलाई भेरिफिकेसन गरी गुगलले तत्कालै सबै एपहरु गुगल प्लेस्टोरबाट हटाएको छ ।