close

क्रोममा इनकग्निटो मोड प्रयोग गर्नुहुन्छ ? तपाईंका लागि गुगलले ल्याउँदै छ खुशीको खबर

टेकपाना टेकपाना

भदौ ३, २०७८ २२:५६

क्रोममा इनकग्निटो मोड प्रयोग गर्नुहुन्छ ? तपाईंका लागि गुगलले ल्याउँदै छ खुशीको खबर

काठमाडौं । गुगल क्रोमको इनकग्निटो मोडमा गोपनीयतालाई थप बलियो बनाउन नयाँ फिचर आउने भएको छ । क्रोमको क्यानरी भर्सनमा इनकग्निटो ट्याब बायोमेट्रिक डेटाले लक गर्न मिल्ने बनाइएको छ ।

यसको अर्थ हो, अब इनकग्निटो मोडमा ब्राउजरमा फिङ्गर प्रिन्ट अथवा फेरियल लक प्रयोग गर्न सकिनेछ, जसले तपाईंको ब्राउजरलाई थप सुरक्षित बनाउनेछ । 

इनकग्निटो मोडमा ब्राउजर प्रयोग गर्दा गुगलले तपाईंको सर्च हिस्ट्रीको रेकर्ड राख्दैन थियो । यसलाई अझ गोप्य बनाउनका लागि गुगलले बायोमेट्रिक लक फिचर प्रयोगमा ल्याउन लागेको हो ।

यो सेटिङ सबैभन्दा सुरूमा क्रोमको क्यानरी भर्जनमा देखिए पनि हाल अहिले त्यहाँबाट हटाइसकिएको छ । यद्यपि यहि सेप्टेम्बरमा सार्वजनिक हुन लागेको क्रोमको ९४ भर्सनमा यसको अपडेट आउने अनुमान गरिएको छ ।

यो फिचर एप्पल प्रयोगकर्ताको लागि भने पुरानो हुन सक्छ । किनभने एप्पल डिभाइसमा प्रयोग हुने क्रोमको इनकग्निटो मोडमा यो फिचर फेस आईडीको रुपमा सार्वजनिक भइसकेको छ ।

यद्यपि एन्ड्रोइडका लागि भने गुगलले तयारी गरिरहेको छ । आईफोनभन्दा एन्ड्रोइड डिभाइसको भेरियन्ट धेरै हुने कारणले गर्दा पनि यो फिचर आईफोनमा पहिले आएको हुनसक्ने अनुमान रहेको छ ।

त्यसमाथि सबै एन्ड्रोइड डिभाइसमा फेस रिकग्निसन अथवा फिङ्गर प्रिन्ट स्क्यानिङ फिचर हुँदैन भने केहीमा दुवै फिचर नहुन पनि सक्छ । यसर्थ एन्ड्रोइडको लागि इनकग्निटो लकमा थप फरक अप्सनहरू हुन सक्छन् । 

गुगलले यो फिचर डेस्कटप भर्सनका लागि पनि ल्याउने हो या होइन भन्ने विषयमा भने अहिले नै केही जानकारी आइसकेको छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१