close

१२ हजार कर्मचारी कटौती गर्दै गुगल

टेकपाना टेकपाना

माघ ८, २०७९ ११:२५

१२ हजार कर्मचारी कटौती गर्दै गुगल

काठमाडौं । गुगलको मुख्य कम्पनी अल्फाबेटले एकै पटक १२ हजार कर्मचारी कटौती गर्ने तयारी गरेको छ । यो संख्या कम्पनीको कुल कर्मचारी संख्याको ६ प्रतिशत हो । गुगल तथा अल्फावेटका सीईओ सुन्दर पिचाईले कर्मचारी कटौतीमा आफू पूर्ण जिम्मेवार रहेको भन्दै आन्तरिक रुपमा कर्मचारीलाई इमेलमार्फत जानकारी गराएका हुन् ।

पिचाईंले कर्मचारीलाई आफ्नो भुमिकामार्फत कम्पनीलाई पुर्‍याएको योगदान र कडा परिश्रमका लागि धन्यवाद दिएका छन् । उनले भनेको छन, ‘कम्पनीका लागि यो संक्रमणकालिन अवस्था सहज छैन । यस्तोमा नयाँ अवसर खोज्ने कर्मचारीलाई आवश्यक सहयोग हुनेछ । त्यो समयसम्मका लागि आफ्नो स्वास्थ्यको ख्याल गर्न र यो कठिन निर्णयलाई स्विकार गर्न आग्रह गर्न चाहन्छौं ।’

यसअघि माइक्रोसफ्टले यही शुक्रबारमात्रै १० हजार कर्मचारी कटौती गर्ने निर्णय लिएको थियो । त्यस्तै, एक हप्ताअघिमात्रै अमेजनले १८ हजार कर्मचारी कटौती गर्ने निर्णय गरेको थियो । दुई ठूलो प्रविधि कम्पनीले लिएको उक्त निर्णयलाई पछ्याउँदै गुगलले पनि कर्मचारी कटौती गर्ने निर्णय लिएको हो ।

गुगलको यो निर्णयले यसअघि ठूलो मात्रामा इन्जिनियर थप गर्ने कम्पनीको योजनामा समेत असर पर्ने देखिएको छ । कम्पनीले बाहिरिने कर्मचारीलाई १२ हप्ताको तलब, सन् २०२२ को बोनस, पेड भ्याकेशनका साथै ६ महिनाको स्वास्थ्य बीमा समेत उपलब्ध गराउने जनाइएको छ । 


 

 

पछिल्लो अध्यावधिक: माघ ८, २०७९ ११:२५