close

यस्तो छ, कक्षा १० मा अध्ययनरत दीक्षान्त पाण्डेले बनाएको भ्वाइस असिस्टेन्ट

सञ्जीवन राई सञ्जीवन राई

माघ ९, २०७९ १६:५८

यस्तो छ, कक्षा १० मा अध्ययनरत दीक्षान्त पाण्डेले बनाएको भ्वाइस असिस्टेन्ट

काठमाडाैं । काठमाडाैं भ्याली भ्यू स्कुलमा कक्षा १० मा अध्ययनरत दीक्षान्त पाण्डेले भ्वाइस असिस्टेन्ट तयार पारेका छन् । यस प्रविधिमार्फत् आवाजबाटै ल्यापटप, माेबाइल चलाउन सकिने उनकाे भनाइ छ ।

एक वर्षदेखि भ्वाइस असिस्टेन्ट परियाेजनामा लागेका उनले पाइथनकाे 'स्पिच रिकग्निसन' नामक एपीआई प्रयाेग गरेका छन् ।

''अहिले गुगल असिस्टेन्ट, एप्पल सिरी, अमेजन एलेक्सा, माइक्राेसफ्ट काेर्टनाजस्ता भ्वाइस असिस्टेन्ट चल्तीमा छन्,'' उनले भने, ''मैले भने पाइथन प्राेगामिङ ल्याङ्गवेजमात्र प्रयाेग गरी भ्वाइस असिस्टेन्ट तयार पारेकाे हुँ ।''

अंग्रेजी भाषामा कमान्ड दिन सकिने गरी ल्याएकाे याे भ्वाइस असिस्टेन्टबाट ईमेल पठाउने, गुगल सर्च गर्ने, गीत बजाउने, सामान्य कुराकानी गर्ने लगायतका काम गर्न सकिने उनकाे दाबी छ । साथै नेपाली भाषाबाट सञ्चालन गर्न सकिने भ्वाइस असिस्टेन्ट पनि निर्माणकाे तयारीमा रहेकाे उनले सुनाए ।

‘नेपाली भाषा आफैंले विविधता बाेकेकाे छ । पूर्वमा बाेलिने भाषा पश्चिम नेपालकाे भन्दा भिन्न छ । शब्दकाे अर्थ र उच्चारणमा हुने विविधता प्रमुख चुनाैती हुन् जस्ताे लाग्छ । त्यही भएर पर्याप्त अनुसन्धान गरेर नेपाली भाषाकाे भ्वाइस असिस्टेन्ट बनाउँछु,’ उनले भने । 

गत महिना राजधानीमा सम्पन्न आईसीटी अवार्ड कार्यक्रममा  उनकाे याे परियाेजना ‘राइजिङ स्टार इनाेभेसन, आईसीटी अवार्ड २०२२’ मा उत्कृष्ट १२ मा पर्न सफल भएकाे थियाे । साथै उनले याे परियाेजनाबाट ‘जुरी मेन्सन आईसीटी अवार्ड’ नै जिते ।

पाण्डेकाे यस परियाेजनामा माइक्राेसफ्टकाे स्टार्टअप हबले समेत आर्थिक सहयाेग गर्ने घाेषणा गरेकाे छ ।

‘''हाल यस भ्वाइस असिस्टेन्टकाे प्राेटाेटाइप मात्र तयार छ । पढाइका कारण परियाेजना पूरा भएकाे छैन । अब कक्षा १० उत्तीर्णपछि यसलाई मूर्तरुप दिने लक्ष्य छ,'' भावी याेजना सुनाउँदै उनले भने  । 

पाइथन प्राेगामिङ ल्याङ्वेज सिक्दा भ्वाइस असिस्टेन्ट बनाउने प्राेजेक्ट पनि गर्नुपर्ने भएकाले त्यसमा अभ्यास गर्दै जाँदा थप काम गर्न मन लागेर याे परियाेजना सुरुवात गरेकाे उनले बताए ।

विद्यालयमा हुने कम्प्युटर विज्ञान विषयमा एचटीएमएल, सीएसएसजस्ता प्रोग्रामिङ ल्याङ्वेज सिकेपछि अरु प्रोग्रामिङ ल्याङवेज सिक्न मन लागेकाे उनी सुनाउँछन् ।

त्यसका लागि उनले युट्युबमा भिडि‌ओहरु हेरेर सिक्ने गर्थे । पछि पाइथन प्रोग्रामिङ सिक्नका लागि प्राेफेसनल ट्रेनिङ इन्स्टिच्युट गए । त्यहाँ आफूले पाइथनबारे अझ मज्जाले सिक्न पाएकाे उनी बताउँछन् ।

बालबालिकालाई सही कुरामा प्रविधि प्रयोग गर्न प्रोत्साहन दिए सकारात्मक नतिजा आउने दीक्षान्तका बुवा दीपक पाण्डेकाे धारणा छ । 

''सानाे उमेरमा माेबाइल/कम्प्युटर चलाउँदा बिग्रने वा नराम्राे भयाे भन्ने छ । तर अभिभावक र  विद्यालयले याे कुरा बुझेर सही निर्देशन दिँदा राम्राे नतिजा निस्कन्छ,'' उनले भने ।

बच्चाले के कुरामा बढी चासाे दिन्छन्, त्याे कुरालाई बुझे‍र सहयाेग गर्नुपर्नेमा उनकाे जाेड छ ।

पछिल्लो अध्यावधिक: माघ ९, २०७९ १७:८