close

सूचना प्रविधि क्षेत्रमा महिला सशक्तिकरणका लागि ह्याकाथन गर्दै एनसेल

टेकपाना टेकपाना

माघ १०, २०७९ ११:१२

सूचना प्रविधि क्षेत्रमा महिला सशक्तिकरणका लागि ह्याकाथन गर्दै एनसेल

काठमाडौं । एनसेल आजियाटा लिमिटेड र शिक्वेल फाउन्डेसनको सहकार्यमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्ययनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरूलाई लक्षित गर्दै ‘ह्याकिङ फर ह्युम्यानिटी’ थिममा ह्याकाथन कार्यक्रम आयोजना हुने भएको छ ।

आउँदो माघ २७ देखि माघ २९ गतेसम्म हुने कार्यक्रम नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्रम भएकाे बताइएकाे छ ।

विविधता, समानता र समावेशीकरण अर्थात् डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई)प्रति आफ्नो प्रतिबद्धता अनुरूप यो ह्याकाथनका लागि सहकार्य गरिएको एनसेलले ​जनाएकाे छ ।

यसको प्रमुख उद्देश्य महिलाहरूलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्नु रहेको बताइएको छ । कार्यक्रमका अन्य साझेदारमा 'गर्ल्स इन टेक' र 'वुमन इन बिग डेटा' रहेका छन् ।

शिक्वेल फाउन्डेसनका अनुसार छनोटमा परेको सहभागी महिला समूहहरूले स्वास्थ्य, शिक्षा, कृषि लगायतका विभिन्न क्षेत्रमा देखिएका समस्याहरूलाई समाधान गर्न विभिन्न सोलुसन्सका प्रोटोटाइपहरू बनाउनेछन् ।

हाल यस कार्यक्रमको तयारी स्वरूप काठमाडौंलगायत देशका विभिन्न ठाउँमा कलेज एक्टिभेसनका कार्य भइरहेका छन् ।

ह्याकाथनले महिलाहरूलाई सूचना प्रविधि क्षेत्रमा आफ्नो करियर बनाउन र यस क्षेत्रमा रहेका विभिन्न सम्भावनाहरूसँग उनीहरुलाई जोड्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास एनसेलले लिएको छ ।

यस ह्याकाथनमा भाग लिन इच्छुक सूचना प्रविधि अध्ययन गरिरहेका छात्राहरु तथा यस क्षेत्रमा काम गरिरहेका महिलाले तीन जनाको समूह बनाउन सक्छन् र यो कार्यक्रमको रजिस्ट्रेसन कोड स्क्यान गरी एनसेल एपमार्फत आफ्नो समूह दर्ता गर्न सक्छन् ।

दर्ता भएका समूहमध्येबाट छानिएका समूहको सूची माघ २० मा घोषणा गरिनेछ ।

कार्यक्रमकाे पूर्व तयारीस्वरुप हाल विभिन्न कलेजहरूमा डिजाइन थिंकिङ, आन्टरप्रेन्युरियल फाइनान्स, बिजनेस मोडल क्यानभास, स्टोरी प्रेजेन्टेसन आइडिया पिचिङ र डेलिभरीमा केन्द्रित हुँदै कार्यक्रमहरुको आयोजना भइरहेका छन् ।

पछिल्लो अध्यावधिक: माघ १०, २०७९ ११:२५