close

नेपाल सरकारका वेबसाइटमा छ वर्षयताकै ठूलो साइबर आक्रमण !

टेकपाना टेकपाना

माघ १५, २०७९ १२:४३

नेपाल सरकारका वेबसाइटमा छ वर्षयताकै ठूलो साइबर आक्रमण !

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा होस्ट भएका नेपाल सरकारका वेबसाइट अझै पनि पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । शनिबार एकै पटक धेरै साइटबाट साइबर आक्रमण हुँदा सम्पूर्ण सरकारी साइटहरू डाउन भएका थिए । डाउन भएको करिब तीन घण्टा पश्चात् वेबसाइट पुन: सञ्चालनमा आएको भएपनि सबै साइटहरू अझै पनि राम्रोसँग खुल्न सकेका छैनन् । 

अझै पनि वेबसाइटहरुमा आक्रमण हुने क्रम जारी छ ।  "वेबसाइटमा अहिले पनि आक्रमण भइरहेकाे छ," केन्द्रका सूचना अधिकारी रमेश पोखरेल भन्छन्, "हिजोको तुलनामा आज भने आक्रमण केही कम भएको छ । तर केही वेबसाइट खोल्दा समस्या आउने क्रम बाँकी नै छ ।”

हिजो शनिबार कार्यलयमा इन्जिनियर नहुँदा साइबर आक्रमण भएकाले साइट डाउन भएको र त्यसलाई सञ्चालनमा ल्याउन समय लागेकाे उनले बताएका छन् । "शनिबार हाम्रो ब्यालेन्स बिग्रियो," उनी भन्छन्, "हिजो बिदा पनि भयो । इन्जिनियर थोरै भएर पनि हो । फरक फरक साइटहरूबाट आक्रमण भइरहँदा जनशक्ति कम भएको हो । आज सबै जना हुनुहुन्छ । सबैतिर सबै कुरा मनिटरिङ गरिरहेका छन् । त्यसैले खासै समस्या नपर्ला ।"

पोखरेलका अनुसार समस्या विस्तारै समाधान हुँदै गएकाे भएपनि वर्ल्डलिङ्कको इन्टरनेट प्रयोगकर्ताहरूले भने अझै पनि सरकारी वेबसाइटहरू पहुँच बनाउन सकिरहेका छैनन् । त्यसका लागि आवश्यक समन्वय पनि भइरहेकाे उनल बताए ।

उनका अनुसार यही प्रकृतिको साइबर आक्रमण ५/६ वर्ष अगाडि भएको थियो । "सरकारलाई अट्याक गर्ने जसको पनि इच्छा हुन्छ । सरकारी वेबसाइटमा आक्रमण गर्‍यो भने पपुलर हुन्छु भन्ने मान्छेमा एउटा खालकाे भ्रम छ," उनी थप्छन्, "यही कारणले पनि सरकारी साइटमा बढी आक्रमण हुने गर्छ ।”

यस्ता समस्या पुनः आउन नदिन वैकल्पिक उपायहरूमा समेत काम भइरहेकाे उनले बताएका छन् । विशेषगरी डेटा माइग्रेसन गर्दा त्यस्ता साइबर आक्रमण हुने भएकाले त्यसको विकल्प खोजिरहेको उनले जानकारी दिए । 

 

 

पछिल्लो अध्यावधिक: माघ १५, २०७९ १२:४३