close

भारतको फोनपेले ल्यायो यूपीआई सपोर्ट गर्ने सिस्टम, अब नेपालबाट पनि भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

माघ २६, २०७९ ८:५५

भारतको फोनपेले ल्यायो यूपीआई सपोर्ट गर्ने सिस्टम, अब नेपालबाट पनि भुक्तानी गर्न सकिने

काठमाडौँ । भारतको डिजिटल भुक्तानी कम्पनी फोनपेले 'यूपीआई इन्टरनेसनल' सपोर्ट हुने फिचर सार्वजनिक गरेको छ । यसका माध्यमबाट अब भारत बाहिरका मर्चेन्टले पनि यूपीआई प्रयोग गरेर क्यूआर कोडमार्फत भुक्तानी लिनसक्ने बताइएकाे छ ।

साथै भारतीय बैंकमा अकाउन्ट भएका प्रयोगकर्ताले पनि फोनपेबाट भुक्तानी गर्न सक्छन् । यस फिचर यूपीआई सार्वजिनक भएका देशहरूमा सपोर्ट हुने बताइएको छ । हालसम्म यो फिचर नेपाल, युनाइटेड अरब इमिरेट्स (यूएई), सिंगापुर, भुटान र माैरिससमा सार्वजनिक भइसकेको छ ।

फोनपेका अनुसार यो फिचर भारतबाट विभिन्न देशमा यात्रा गर्ने फोनपे प्रयोगकर्ताका लागि उपयोगी हुनेछ । विशेषगरी भारतीय बैंकमा अकाउन्ट हुने जोकोहीले यूपीआई सार्वजनिक भएका देशबाट यो सेवा लिन सक्नेछन् ।

"अन्तर्राष्ट्रिय डेबिट कार्ड प्रयोग गरेजस्तै भारतीय बैंकमा अकाउन्ट हुने व्यक्तिले फोनपेबाट भुक्तानी गर्न सक्छन्," कम्पनीले सामाजिक सञ्जाल लिङ्कडिनमा उल्लेख गरेको छ ।

कम्पनीले यो सेवा भारतमै पहिलो पटक ल्याएको दाबी गरेको छ । “बाँकी विश्वलाई पनि यूपीआई अनुभव गराउनका लागि यो सेवा हाम्रो पहिलो कदम हो," कम्पनीका चिफ टेक्नोलोजी अफिसरले एक सञ्चारमाध्यमलाई भने, "यो सेवाले विदेश यात्रा गर्ने भारतीयले विदेशमा मर्चेन्ट आउटलेटमा भुक्तानी गर्ने तरिकालाई पूर्ण रूपमा परिवर्तन गर्ने कुरामा म विश्वस्त छु ।”

कम्पनीका अनुसार भारतीय बैंकमा अकाउन्ट हुने व्यक्तिले नेपालबाट पनि फोनपे (PhonePe)को स्थानीय मर्चेन्टलाई क्यूआर भुक्तानी गरि सेवा लिन सक्नेछन् । वाल्मार्टको स्वामित्वको कम्पनी फोनपेमा हाल ४३ करोड ५० लाख बढी प्रयोगकर्ता छन् भने ३ करोड ५० लाख बढी मर्चेन्ट रहेका छन् ।

यूपीआई प्रणाली जारी गर्ने भारतीय राष्ट्रिय भुक्तानी निगमले एनारआई (गैरआवासीय भारतीय)ले अन्तर्राष्ट्रिय बैंक खाताबाट पनि यो सेवा प्रयोग गर्न सकिने सुविधा ल्याइरहेको छ ।

अन्तर्राष्ट्रिय नम्बरका लागि एनसीपीआईले केही देश जस्तै; अस्ट्रेलिया, सिङ्गापुर, यूएई, बेलायत, अमेरिका र कतारमा पनि यूपीआई सेवा सपोर्ट हुने बनाएको छ । त्यसैगरी अधिकांश युरोपेली देशमा यूपीआई भुक्तानी सेवा उपलब्ध गराउन संस्थाले फ्रान्स-मल्टिनेसनल कम्पनीसँग पनि सहकार्य गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: माघ २६, २०७९ ८:५६