काठमाडौँ । अब भर्चुअल रुपमा पनि संसद बैठक बस्न सक्ने भएकाे छ । प्रतिनिधिसभाका सांसदहरूले भौतिक रुपमा संसद बैठकमा जान नसके भर्चुअल माध्यमबाट उपस्थिति जनाउन सक्ने गरी नियमावली तयार हुन लागेकाे हाे ।
बिहीबार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकले भर्चुअल माध्यमबाट बैठकमा सहभागी हुन सकिने गरी यस्ताे नियमावली बनाउने निर्णय गरेकाे हाे ।
यसअन्तर्गत प्राकृतिक प्रकोप, महामारी लगायतकाे अवस्थामा भौतिक उपस्थितिमा बैठक बस्न संभव नभए कम्तीमा एक चौथाइ सदस्य सहमत भई यसबारे सभामुखलाई जानकारी गराउनुपर्ने छ ।
यसपछि आवश्यकताअनुरुप कार्यव्यवस्था समितिको परामर्शमा सभामुखले भर्चुअल माध्यमबाट पनि बैठक आह्वान गर्न सक्नेछन् ।