काठमाडौं । माइक्रोसफ्टले २८ वर्षअघि निर्माण गरेको इन्टरनेट एक्सप्लोरर सधैँका बन्द भएको छ । कम्पनीले सन् २०१५ मा इन्टरनेट एक्स्प्लोररको विकल्पमा माइक्रोसफ्ट एज सार्वजनिक गरेको थियो । अहिले भाइरल भएको एआईमा आधारित च्याटबट इन्ट्रिगेट गर्नाले माइक्रोसफ्ट एज प्रयोग गर्नेको सङ्ख्या बढेको छ ।
सन् २०२९ सम्म सेक्युरिटी अपडेट उपलब्ध गराउने भनिएपनि कम्पनीले मंगलबार फेब्रुअरी १४ का दिन पूर्ण रूपमा सधैंका लागि बन्द गरेको हाे ।
अहिले माइक्रोसफ्टले इन्टरनरेट एक्सप्लोररका सबै सेवा माइक्रोसफ्ट एजमार्फत उपलब्ध गराइरहेको छ ।
"दिनानुदिन वेबसाइटको सङ्ख्या बढ्दै गएको छ," कम्पनीले विज्ञप्तिमा लेखेको छ, "इन्टरनेट एक्सप्लोररमा नयाँ वेबसाइट सपोर्ट नगर्ने भएपछि र यसको विकल्पमा माइक्रोसफ्ट एज फास्ट, सुरक्षित र आधुनिक भएकाले उक्त ब्राउजर बन्द गरेका छौं ।"
इन्टरनेट एक्सप्लोरर सन् १९९५ मा विन्डोज ९५ अपरेटिङ सिस्टमका लागि सार्वजनिक गरिएको थियाे । विस्तारै माइक्रोसफ्टले आफ्ना हरेक अपरेटिङ सिस्टमका लागि इन्टरनेट एक्सप्लोरर निःशुल्क डाउनलोड गर्न मिल्ने सुविधा ल्यायो ।
अन्य वेब ब्राउजरको व्यापक प्रयोग र लोकप्रियता लगायत अन्य विविध कारणले माइक्रोसफ्टले सन् २०१६ पछि इन्टरनेट एक्सप्लोररमा नयाँ फिचर विकास गर्न बन्द गरेको थियो । त्यही समयमा माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोररको विकल्पमा 'एज' विकास गर्यो ।
इन्टरनेट एक्सप्लोरर एक समयमा निकै प्रयोग भएको वेब ब्राउजर हो । सन् २००४ मा फायरफक्स र त्यसपछि सन् २००८ मा गुगल क्रोमले बजार लिन थालेपछि यसको लोकप्रियता क्रमशः घट्दै गएको थियो ।
मोबाइल अपरेटिङ सिस्टम जस्तै; एन्ड्रोइड र आईओएसको प्रयोग व्यापक बढेपछि इन्टरनेट एक्सप्लोररको अस्तित्व गुम्दै गएको थियो ।