close

नक्कली स्मार्ट लाइसेन्स बनाउने तीन जना पक्राउ

टेकपाना टेकपाना

फागुन ३, २०७९ १८:२०

नक्कली स्मार्ट लाइसेन्स बनाउने तीन जना पक्राउ

काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) बनाएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखराकी ३५ वर्षीय कञ्चन गुरुङ, नुवाकोटका ३८ वर्षीय अनिल राई र नुवाकोटकै ३६ वर्षीय राजन तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयलाई काठमाडौं उपत्यकामा केही व्यक्तिहरूले लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बनाई प्रयोग गर्दै आइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले ती व्यक्तिहरू पक्राउ गरेको हो । 

कार्यालयबाट खटिएको प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट फरक फरक दिनमा माघ २९ गते, फागुन १ गते र फागुन २ गते आरोपित तीन जनालाई पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा कञ्चन गुरुङले आफ्नो फोटो, गंगा तामाङको नामको सवारी चालक अनुमतिपत्र र पाँच हजार रुपैयाँ आफ्ना चिनजानका मानिस अनिल राईलाई दिएको देखिएको छ । 

उक्त पैसाबाट अनिल राईले आफूले एक हजार पाँच सय रुपैयाँ लिएर उक्त फोटो, कागजात र बाँकी तीन हजार पाँच सय राजन तामाङलाई दिएको देखिन्छ । 

साथै अन्तिममा राजन तामाङले तीन हजार पाँच सय लिएर गंगा तामाङको सवारी चालक अनुमतिपत्रमा कञ्चन गुरुङको फोटो टाँसी नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बनाइ उपलब्ध गराउने गरेको पाइएको हो । 

साथै उनले यसरी अन्य धेरै व्यक्तिहरूलाई नक्कली सवारी चालक अनुमतिपत्र उपलब्ध गराएको खुल्न आएकोले थप अनुसन्धान कार्य जारी भएको अनुसन्धान कार्यालयले उल्लेख गरेको छ ।

पक्राउ परेका राजन तामाङ यसअघि पनि लिखत सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर, जावलाखेल, ललितपुरबाट पक्राउ परेर रिहा भएको पनि खुलेको हो ।

आरोपित तीनैजनालाई लिखत सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिएका छन् । 

 

पछिल्लो अध्यावधिक: फागुन ३, २०७९ १८:२०