close

उच्च अदालतले भन्यो- बाइकमा मोबाइल होल्डर राख्न दिनू

टेकपाना टेकपाना

फागुन ९, २०७९ १८:३५

उच्च अदालतले भन्यो- बाइकमा मोबाइल होल्डर राख्न दिनू

काठमाडौं । अब मोटरबाइकमा मोबाइल होल्डर राख्न पाइने भएको छ । उच्च अदालत पाटनमा परेकाे एक मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश सुभाष पौडेल र नरिश्वर भण्डारीको संयुक्त इजलासले मोटरसाइकलमा मोबाइल होल्डर र हेल्मेट क्यामरा राख्न दिई सवारी साधन निर्वाध रुपमा चलाउन दिन विपक्षीको नाममा परमादेश जारी गरेको हो ।

सवारी दुर्घटना जोखिमको कारण देखाउँदै ट्राफिक प्रहरी कार्यालयले गत भदौमा बाइकमा मोबाइल होल्डर राख्न प्रतिबन्ध लगाएको थियो । यस्तो प्रतिबन्धपछि राइड शेयरिङ कम्पनी सजिलो साथी प्रालिका तर्फबाट डेविड चौधरी र आर्यनराज पाण्डेले उच्च अदालत पाटनमा गोप्रो क्यामेरा र मोबाइल स्ट्यान्ड राख्न पाउनुपर्ने मागसहित गत मंसिर २१ गते रिट दायर गरेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र यातायात व्यवस्था विभागलाई विपक्षी बनाई दायर गरिएको सो रिटमा गत फागुन ३ गते ​सुनुवाई गर्दै न्यायाधीश पौडेल र भण्डारीको संयुक्त इजलासले मोबाइल होल्डर र हेल्मेट क्यामरा राख्न दिन विपक्षीको नाममा परमादेश जारी गरेको हो ।

साथै सो प्रयोग गरेबापत जरिवाना गर्ने कार्य रोक्नु भन्ने विषय समसामयिक, जायज र कानून अनुकूल नै देखिँदा ती उपकरण प्रयोगबाट हुनसक्ने सबल र निर्बल पक्षहरुको प्राविधिक अध्ययन र विश्लेषण गरी नियमन गर्नतर्फ आवश्यक कारबाही गरी उपयुक्त कानूनी मापदण्ड निर्धारण गर्न पनि सो इजलासले आदेश दिएको छ । 

अदालतको फैसलाको पूर्ण पाठ भने आइसकेको छैन ।

विशेषगरी राइड शेयरिङ प्लेटफर्ममा आवद्ध हुने राइडरले म्याप हेर्न मोबाइल होल्डर प्रयोग गर्न थालेपछि सो कार्य बाइक मोडिफिकेसनभित्र पर्ने भन्दै ट्राफिक प्रहरीले मोबाइल होल्डर राख्न प्रतिबन्ध लगाएको थियो । यसअन्तर्गत पाँच सयदेखि २० हजार  रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था थियाे ।

उच्च अदालतकाे आदेशसँगै अब ट्राफिक प्रहरीले बाइकमा मोबाइल स्ट्यान्ड राख्नेलाई कारबाही गर्न नपाउने भएका छन् ।

पछिल्लो अध्यावधिक: फागुन ९, २०७९ २०:४४