close

मोबाइलमा यी एप प्रयोग गर्नुहुन्छ ? सधैंका लागि डिलिट हुन सक्छ तपाईँको ह्वाट्सएप अकाउन्ट

टेकपाना टेकपाना

फागुन १२, २०७९ १४:५७

मोबाइलमा यी एप प्रयोग गर्नुहुन्छ ? सधैंका लागि डिलिट हुन सक्छ तपाईँको ह्वाट्सएप अकाउन्ट

काठमाडौं । मेटा स्वामित्वकाे ह्वाट्सएप विश्वमै सर्वाधिक प्रयाेगकर्ता भएकाे मेसेजिङ एप हो । यसका सवा दुई अर्ब बढी सक्रिय प्रयोगकर्ता छन् । प्रयोगकर्ता धेरै हुँदा स्क्यामरकाे नजरमा यो एप परिरहेको छ । यस्ता स्क्यामर विभिन्न तरिका अपनाएर सक्रिय भइरहन्छन् । 

केही वर्षयता ह्वाट्सएपजस्तै देखिने नक्कली एपमार्फत सुरक्षा चुनाैती निम्तिन थालेपछि मेटाले नयाँ रणनीति अपनाउन थालेकाे छ । गुगल प्ले स्टोरमा नभेटिने यस्ता नक्कली एप प्रयोगकर्ताले विभिन्न अनाधिकारिक स्राेतबाट डाउनलोड गर्ने क्रम नराेकिएपछि कम्पनीले कडा कदम चाल्न लागेकाे हाे ।

यसअन्तर्गत ह्वाट्सएपको मोड भर्सन (परिमार्जन वा मोडिफिकेसन गरिएको) एपीके वा अनाधिकारिक एप प्रयोग गर्दा प्रयाेगकर्ताकाे वास्तविक ह्वाट्सएप नै अकाउन्ट डिलिट हुनसक्ने मेटाले चेतावनी दिएकाे छ ।

कम्पनीले हालै विज्ञप्ति जारी गर्दै अनाधिकारिक वा मोड एप प्रयोग गर्ने प्रयोगकर्ताको अकाउन्ट सधैंका लागि डिलिट हुनसक्ने उल्लेख गरेकाे हाे । यसको अर्थ तपाईँले ह्वाट्सएप जस्तै थर्ड पार्टी एप प्रयोग गर्नुभएको छ भने तपाईँको मेसेज र कन्ट्याक्ट गुम्ने जोखिम बढी हुन्छ । 

कम्पनीका  अनुसार यस्ता एपमार्फत प्रयाेगकर्ताकाे माेबाइलमा मालवेयर फैलिने गर्छ, जसमा ‘हे ह्वाट्सएप’, ‘ह्वाट्सएप प्लस’, ‘जीबी ह्वाट्सएप’ जस्ता मोडिफाइड एप गुगल प्ले स्टोरभन्दा बाहिर उपलब्ध हुने एपहरू छन् । 

त्यसोभए ह्वाट्सएपले तपाईँको अकाउन्ट डिलिट गरेको कसरी थाहा पाउन सकिन्छ त ?

कम्पनीका अनुसार प्रयोगकर्ताको अकाउन्ट डिलिट भएपछि उनीहरूलाई कम्पनीका तर्फबाट मेसेज आउँछ । सबैभन्दा पहिले अकाउन्टमाथि केही समयका लागि प्रतिबन्ध लाग्छ । यदि त्यसपछि पनि तपाईँले नक्कली एप हटाउनुभएन भने कम्पनीले तपाईँको अकाउन्टमा सधैंका लागि प्रतिबन्ध लगाउँछ ।

मोडिफाई गरिएका वा अनाधिकारिक एपमा थुप्रै प्रिमियम विशेषता हुन सक्छन् । तर, त्यही फिचरका लागि हामीले हाम्रो डेटा जोखिममा पारिरहेका हुन्छौं । त्यसैले मेटाले निःशुल्क उपलब्ध गराइएका एप प्रयोग गर्न अनुरोध गरेको छ ।

ह्वाट्सएपको आधिकारिक एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् । 

 

पछिल्लो अध्यावधिक: फागुन १२, २०७९ १५:३६