काठमाडौं । चिनियाँ विद्यार्थीको एक समूहले एउटा रिमोट किसिङ मसिन तयार पारेका छन् । थ्रीडी ओठ भएको उक्त मसिनको प्रभावले फोनबाटै चुम्बन गरेको अनुभव हुने उनीहरूको दाबी छ ।
चिनियाँ सञ्चारमाध्यम साउथ चाइना मर्निङ पोस्टले विद्यार्थीले यस्ताे मसिन तयार पारेको समाचार लेखेकाे छ । समाचार अनुसार 'थ्रीडी लिप्स' (ओठ) भएको सिलिकन डिभाइसले अर्को व्यक्तिको ओठको चाप, चाला र तापलाई महसुस गराउने छ ।
यसबाट वास्तविक व्यक्तिसँग चुम्बन गरेको अनुभव हुने बताइएको छ । अहिले चिनियाँ अनलाइन खुद्रा बजार टावबाओ (Taobao) मा बिक्री भइरहेको उक्त एउटा मसिनको मूल्य २६० युआन (करिब चार हजार ९५० रुपैयाँ) पर्ने बताइएको छ ।
सो डिभाइस खरिद गरिसकेपछि मसिन विकासकर्ताले तयार पारेको मोबाइल एपमा कनेक्ट गर्नुपर्ने हुन्छ । सोही एपले प्रयोगकर्तालाई एक-आपसमा जोडेर भर्चुअल चुम्बनको आनन्द दिन्छ । उक्त भर्चुअल किसिङ मसिन चाङझाेउ भोकेसनल इन्स्टिच्युट अफ मेकाट्रोनिक टेक्नोजोजीका विद्यार्थीले पेटेन्ट दर्ता गर्नुका साथै तयार पारेका हुन् ।
आफ्नो प्रेमिका टाढा भएपछि टिमको नेतृत्व गरिरहेका जियाङ जोङ्ग्लीले उक्त डिभाइसको परिकल्पना गरेका थिए । विशेषगरी फोनबाट मात्र सम्पर्क भइरहने भएपछि उनले सो डिभाइसको परिकल्पना गरेको विभिन्न सञ्चार माध्यमसँगको अन्तर्वार्तामा खुलाएका छन् ।
यस मसिनलाई लिएर प्रयोगकर्ताले मिश्रित प्रतिक्रिया दिन थालेका छन् ।