close

राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि यी हुन् सरकारले तोकेका ठाउँ

टेकपाना टेकपाना

फागुन १७, २०७९ १६:५८

राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि यी हुन् सरकारले तोकेका ठाउँ

काठमाडौं । काठमाडौं उपत्यका बाहिर स्थायी ठेगाना भई हाल राजधानीमा बसोबास गरिरहेका नागरिकहरूका लागि सरकारले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने स्थान तोकेको छ । बुधबार एक सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले काठमाडौं र ललितपुरका विभिन्न पाँच स्थानमा दर्ता स्टेसन सञ्चालन भइरहेको जानकारी दिएको छ ।

हाल देशभरका ७७ ओटै जिल्ला प्रशासन कार्यालय तथा ४२ ओटा इलाका प्रशासन कार्यालय, नारायणहिटी दरबार तथा विवरण दर्ता अभियान सञ्चालन भइरहेका स्थानबाट राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन भइरहेको सन्दर्भमा राजधानी बाहिरका नागरिकले काठमाडौंबाट सेवा लिन चाहेमा विभागले विकल्प दिएको हो ।

यसअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा बागमती प्रदेशका ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा मधेश प्रदेशका पर्सा र धनुषा जिल्लाका सेवाग्राहीहरूले विवरण दर्ता गर्न सक्नेछन् ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै तथा मधेश प्रदेशका सप्तरी र सर्लाही जिल्लाका सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सक्नेछन् ।

त्यस्तै नारायणहिटी दरबार परिसरमा रहेको विवरण दर्ता स्थानमा प्रदेश नं. १, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्ला र प्रदेश नं. २ का सिरहा, महोत्तरी बारा र रौतहट जिल्लाका सेवाग्राहीले सेवा लिन सक्ने बताइएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका दर्ता स्टेसन भने नेपाल सरकार तथा मातहतका कर्मचारी, पूर्वकर्मचारी तथा विशिष्ट पदाधिकारीका लागि छुट्याइएको छ । यस्तै राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा रहेको विवरण दर्ता स्टेसनबाट राष्ट्रसेवक कर्मचारीका परिवारका व्यक्तिले सेवा लिन सक्नेछन् ।

विभागले आगामी दिनमा कार्ड प्राप्त गर्ने लगायका कार्यमा सहजता हुने हुँदा अति जरुरी परेको अवस्थामा बाहेक सकेसम्म आ आफ्नो स्थान ठेगाना भएको जिल्ला तथा इलकाका प्रशासन कार्यालयबाट नै विवरण दर्ता अनुरोध गरेको छ । 

पछिल्लो अध्यावधिक: चैत २४, २०७९ ८:५३