close

‘छक्का पञ्जा ४’ का क्लिप युट्युब र टिकटकमा लिक !

टेकपाना टेकपाना

फागुन २०, २०७९ १५:१०

‘छक्का पञ्जा ४’ का क्लिप युट्युब र टिकटकमा लिक !

काठमाडौं । शुक्रबार रिलिज भएका नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ का क्लिपहरू सामाजिक सञ्जालमार्फत लिक भएका छन् । सिनेमा हलमा प्रदर्शनीमा आएलगत्तै चलचित्रका क्लिप टिकटक, युट्युबसहितका सामाजिक सञ्जाल प्लेटफर्ममा लिक भएकाे पाइएकाे हाे ।

पछिल्लो केही समययता हलमा चलचित्र हेर्न गएका दर्शकहरूले चलचित्रका छोटो-छोटो भिडिओ बनाउँदै टिकटक, युट्युब र  फेसबुकमा अपलाेड गर्ने प्रचलन बढ्दै गइरहेको छ । चलचित्रकर्मीहरूले छोटा भिडिओहरू बनाई टिकटक लगायतका सामाजिक सञ्जालमा नहाल्न आग्रह पनि गर्दै आएका छन् ।

यद्यपि भ्युज र लाइक धेरै पाउने चाहनामा कानून विपरीत सामाजिक सञ्जालमा भिडिओ राख्ने क्रम रोकिएको छैन ।

"१/२ मिनेटको भिडिओ भएपनि ठीकै छ भन्नुहुन्थ्यो । तर यहाँ त १० देखि १५ मिनेटसम्मको भिडिओ पार्ट, पार्ट गर्दै हालिरहेको पाइएको छ । टिकटकमा त लगभग पूरै फ्लिम देखिन्छ," छक्का पञ्जा ४ का निर्माता एवं कलाकार दिपकराज गिरीले भने । 

यसरी क्लिपहरू भाइरल हुँदा दर्शकको संख्या घट्ने भएपनि यो ट्रेन्डलाई रोक्न नसकिएको उनको भनाइ छ । युट्युबमा लिक भएको भिडिओलाई नियन्त्रण गर्न सकिने भएपनि टिकटकमा आउने भिडिओहरू नियन्त्रण गर्ने संयन्त्र नहुँदा समस्या भएको उनले सुनाए ।

"हाम्रो मात्र होइन, पछिल्लो समयमा रिलिज भएका प्राय: सबै फिल्महरूको यस्तै छोटा भिडिओहरू बनाएर टिकटकमा हालिएका छन्," उनले भने, "हामीले यस विषयमा साइबर ब्यूरोसँग पनि छलफल गरेका छौँ । उहाँहरूले कारबाही अगाडि बढाउने कुरा त राख्नुभएको छ ।"

पछिल्लो अध्यावधिक: फागुन २०, २०७९ १६:५८