close

अब हरेक वर्ष उत्कृष्ट मोबाइल तथा इन्टरनेट सेवाप्रदायकलाई सम्मान गरिने

टेकपाना टेकपाना

फागुन २०, २०७९ १४:३७

अब हरेक वर्ष उत्कृष्ट मोबाइल तथा इन्टरनेट सेवाप्रदायकलाई सम्मान गरिने

काठमाडौं । अब हरेक वर्ष उत्कृष्ट मोबाइल तथा इन्टरनेट सेवाप्रदायकलाई सम्मान गरिने भएको छ। शनिबार नेपाल दूरसञ्चार प्राधिकरणको २५औँ वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो प्रस्ताव अघि सारेकी हुन् ।

प्राधिकरणले आफ्नो रजत जयन्तीको अवसरमा उत्कृष्ट कर्मचारी र दीर्घ सेवा पदक वितरण गरेको थियो । त्यसै क्रममा मन्त्री शर्माले उत्कृष्ट कर्मचारीसँगै आगामी वर्षदेखि उत्कृष्ट सेवाप्रदायकलाई समेत सम्मान गर्न नियामकलाई निर्देशन दिएकी हुन् ।

''हामीले आगामी वार्षिकोत्सवदेखि उत्कृष्ट सेवाप्रदायकलाई पनि पुरस्किृत गर्ने व्यवस्था गर्दा उपयुक्त हुन्छ जस्तो लाग्छ,'' उनले भनिन्, ''सेवाप्रदायकहरुबीच पनि प्रतिस्पर्धा गराउन नियामक निकायले विशेष ध्यान दिनुपर्नेछ ।''

सोही अवसरमा बोल्दै उनले दूरसञ्चार क्षेत्रमा उचित कानूनको अभावमा धेरै काम हुन नसकिरहेकाले आफूहरू चाँडै नै परिवर्तित समयमा दूरसञ्चार ऐन र नियमावलीलाई परिमार्जन गर्न लागिपरेको बताइन् ।

''कतिपय काम कानूनको अभावले गर्न नसकिरहेको कुरा आइरहेकाले मन्त्रालयमा यसबारे गम्भीरताका साथ छलफल भइरहेको छ,'' उनले भनिन्, ''दूरसञ्चार प्राधिकरण स्थापना हुँदा खेरिकै कानून र नियमावलीका कारण अहिलेको परिवर्तित समयमा काम गर्न नसकिरहेको कुरा सराेकारवालाबाट आएको छ । अहिले दूरसञ्चार सेवा अत्यावश्यक सेवाका रुपमा स्थापित भइसकेकाले यसलाई भरपर्दो र गुणस्तरीय  बनाउन नीतिगत, कानूनी र संरचनागत रुपमा आवश्यक सुधार गर्ने काम मेरो प्राथमिकतामा परेको छ ।''

दूरसञ्चार क्षेत्रका विकृति र विसङ्गति हटाएर दूरसञ्चार क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि उनले जोड दिइन् । विकट तथा दुगर्म क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तार गरे। विद्यमान डिजिटल ग्यापलाई कम गर्नुपर्ने आवश्यकता रहेको पनि उनले औंल्याइन् ।

''डिजिटल नेपाल फ्रेमवर्क अनुसार डिजिटल नेपाल निर्माणका लागि दूरसञ्चार प्राधिकरणले पूर्वाधार विकास र सञ्चालनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । साइबर सुरक्षा, तथ्यांक सुरक्षा र गोपनीयता कायम गर्न आवश्यक नीतिगत र कानून प्रबन्ध गर्ने कार्य सरकारको प्राथमिकता रहेको छ,'' उनले भनिन् ।

दूरसञ्चार पूर्वाधारको क्षेत्रमा भइहेको अनावश्यक दोहोरो लगानीलाई न्यून गरी पूर्वाधारको सहप्रयोग गर्न सके दूरसञ्चार सेवा सस्तो हुने मन्त्री शर्माको भनाइ थियो । त्यस्तै राजधानीसहित मुख्य सहरका पोलमा झुण्डिएका अव्यवस्थित तारलाई व्यवस्थित गर्न विभिन्न सरोकारवाला निकायको भूमिकासहित निश्चित मापदण्डका साथ भूमिगत केबल प्रणाली लागू गर्न कार्ययोजना आवश्यक रहेको उनले उल्लेख गरिन् ।

पछिल्लो अध्यावधिक: फागुन २०, २०७९ १७:३४