काठमाडौं । अब गुगल ड्राइभमा पीडीएफ फाइलमा कमेन्ट गर्न तथा फाइल नै एडिट गर्न सकिने भएको छ । प्रयोगकर्ताले एन्ड्रोइड डिभाइसमा भएको पीडीएफ फाइललाई आफ्नो ड्राइभमा राखेर एडिट गर्न सक्नेछन् ।
कम्पनीले गुगल ड्राइभमा पेन (कलम) को आकारमा एउटा नयाँ टुल थप गरेको छ । उक्त टुल प्रयोग गरेर प्रयोगकर्ताले सहजै पीडीएफ फाइलहरूमा एडिट गर्न, कोर्न अथवा आफ्नो टिप्पणी राख्न सक्नेछन् । यो टुल स्क्रिनको तलपट्टि दाहिनेतिर देख्न सकिन्छ ।
प्रयोगकर्ताले सोही पीडीएफ फाइलमा आफूले गरेको एडिट सेभ गर्नसक्ने अथवा त्यसलाई कपि गरेर नयाँ पीडीफ फाइल क्रियट गर्न सक्ने कम्पनीले जनाएको छ । यो फिचर गुगल ड्राइभको नयाँ भर्सनसँगै उपलब्ध हुनेछ ।
एन्ड्रोइड ६.० भन्दा माथि प्रयोग गरिरहेका प्रयोगकर्ताको डिभाइसमा मात्र यो फिचर उपलब्ध हुनेछ । यो फिचरले प्रयोगकर्तलाई मोबाइल वा ट्याबलेटमा नै फाइल हेर्न र एडिट गर्न सहज हुने कम्पनीको भनाइ छ ।