काठमाडौं । विश्वका दिग्गज दूरसञ्चार कम्पनीका अधिकारीले सन् २०३० सम्म सिक्सजी सार्वजनिक हुने अनुमान गरेका छन् । केही देशले मोबाइल प्रविधिको पछिल्लो पुस्ता 'फाइभजी' विस्तार गरिरहँदा बजार सिक्सजीमा फड्को मार्न खोजिरहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम सीएनबीसीका पत्रकार अर्जुन खर्पलले विज्ञहरूसँगको छलफलबाट सिक्सजी अबको सात वर्षभित्र सार्वजनिक हुनसक्ने निष्कर्ष निकालेका हुन् । वायरलेस सिक्सजी इन्टरनेटले तुलनात्मक रूपमा फाइभजीभन्दा तीव्र स्पिडको डेटा, कम लेटेन्सी, र अधिक भरपर्दो कनेक्सन उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
विज्ञहरूका अनुसार सिक्सजी प्रविधि अझै विकासको प्रारम्भिक चरणमै रहेको छ । जसमा अत्याधुनिक चिपसेट र नयाँ रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रमको आवश्यकता पर्छ । त्यसबाहेक पनि थुप्रै प्राविधिक अवरोधहरू पार गर्न बाँकी छ ।
यस्ता अवरोधका बाबजुद पनि अनुसन्धानकर्ता सिक्सजीको सम्भाव्यताका बारेमा आशावादी देखिएका छन् । केहीले स्वचालित सवारी साधनदेखि रिमोट सर्जरीमा सिक्सजीले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छन् ।
चीन र दक्षिण कोरिया सिक्सजी अनुसन्धानमा बढी केन्द्रित छन् । यसैबीच अमेरिकाको सङ्घीय सरकारले सिक्सजी प्रविधिको विकासलाई तीव्रता दिने लक्ष्यका साथ 'एडभान्स्ड वायरलेस रिसर्च इनिसिएटिभ'को अनुसन्धान सुरु गरेको छ ।
सिक्सजीका तमाम सकारात्मक पक्षका बाबजुद पनि केही विशेषज्ञले यो प्रविधि व्यवसायिक रूपमा अगाडि बढ्न धेरै वर्ष लाग्ने अनुमान गरेका छन् । यसै बीच दूरसञ्चार कम्पनीहरू आफ्नो फाइभजी नेटवर्क विस्तार गर्न र उपभोक्ताहरूका लागि कभरेज र गति सुधार गर्न केन्द्रित छन् ।
गत साता बार्सिलोनामा सम्पन्न वर्ल्ड मोबाइल कंग्रेस २०२३ मा पनि सिक्सजीबारे बहस भएको थियो । जसमा विश्वका शीर्ष दूरसञ्चार कम्पनीले आफ्नो राय राखेका थिए ।
किन आवश्यक छ सिक्सजी ?
प्रविधिको विकाससँगै प्रयोगकर्तालाई तीव्र गतिको इन्टरनेट स्पीड आवश्यक पर्छ । सिक्सजीमा तुलनात्मक रूपमा फाइभजीभन्दा तीव्र स्पीड, कम लेटेन्सी र उच्च क्षमता हुन्छ । मोबाइल होलोग्राम, एक्सटेन्डेड रियालिटी (एक्सआर) जस्ता नयाँ सेवाका लागि सिक्सजीले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
त्यसबाहेक पनि साइबर सुरक्षालाई बढावा दिन र आर्टिफिसियल इन्टेलिजेन्स जस्ता प्रविधिलाई गति दिन पनि सिक्सजी प्रविधिको धेरै नै जरुरत पर्छ ।
सन् २०३० मा सिक्सजी;
नोकियाका प्रमुख कार्यकारी अधिकृत पेक्का लन्डमार्क (Pekka Lundmark) ले गत वर्ष सन् २०३० सम्म सिक्सजी सार्वजनिक हुनसक्ने अनुमान गरेका थिए ।
इन्टेलको नेटवर्क एन्ड एज ग्रुपका उपसभापति निक म्याकेवन (Nick McKeown) ले पनि सबै मापदण्डहरू चाँडै निर्धारण गर्न सकिएको खण्डमा सन् २०३० सम्म सिक्सजी सार्वजनिक हुनसक्ने अपेक्षा गरेका छन् ।
बेलायतको मोबाइल सेवा प्रदायक बीटी ग्रुपका प्रमुख प्राविधिक अधिकृतले सन् २०३२ मा सिक्सजी सार्वजनिक हुनेसक्ने अनुमान गरेका छन् । त्यस्तै स्ट्राटेजी एनालिटिक्सका प्रमुख निर्देशक निल मास्टोन (Neil Mawston) ले सन् २०२९ सम्म सिक्सजी सपोर्ट गर्ने फोन सार्वजनिक हुनसक्ने बताएका छन् ।
यद्यपि सिक्सजी प्रविधि सार्वजनिक गर्नुअघि त्यसबारे बृहत् खोजको आवश्यकता पर्ने विज्ञहरूको सुझाव छ ।