close

अब यसरी स्याटलाइटबाटै चल्नेछ मोबाइल सेवा

हरिजङ्ग थापा हरिजङ्ग थापा

चैत ३, २०७९ १७:५९

काठमाडौं । आईफोन १४ मा उपलब्ध स्याटलाइट कनेक्टिभिटीको चर्चा व्यापक रुपमा भयो । 'Emergency SOS via Satellite' भन्ने फिचरले मोबाइल नेटवर्क नभएको ठाउँमा स्याटलाइट नेटवर्कसँग जोड्ने काम गर्छ, जसले गर्दा आपत विपतको समयमा यो विशेषताको उपयोग गर्न सकिन्छ ।

यो सेवा एकतर्फी छ र आकस्मिक अवस्थामा मात्र प्रयोग गर्न सकिनेछ । तैपनि आईफोन १४ मा भएको यो फिचरले क्यानडामा दुई महिलाको ज्यान बचाएको समाचार पनि आयो । अनकन्टार ठाउँमा फसेका ती महिला फोनमा मोबाइल नेटवर्क नहुँदा आत्तिएका थिए । बाटो बिराएको बेलामा हिउँ परिरहेकाले बेलैमा उद्धार नभए ज्यान जाने जोखिम उत्तिकै थियो । तर आईफोन १४ को स्याटलाइट कनेक्टिभिटी फिचरले उनीहरुलाई बचायो ।

यो घटनाले मोबाइलमा स्याटलइट कनेक्टिभिटीको महत्त्वबारे प्रष्ट हुन्छ । आईफोनपछि एन्ड्रोइड फोनहरूमा पनि स्याटलाइट सेवा उपलब्ध गराउन मोबाइल निर्माता कम्पनीहरू लागिपरेका छन् ।

एन्ड्रोइड डिभाइसका लागि चिप बनाउँदै आएको क्वालकमले एन्ड्रोइड फोनमा पनि स्न्यापड्रागन स्याटलाइट उपलब्ध गराउने घोषणा गरिसकेको छ । क्वालकमले दुईतर्फी मेसेज पठाउन सकिनेगरी एन्ड्रोइडका लागि स्याटलाइट सेवा सुरु गर्ने योजना बनाएको छ ।

यो सेवाले आकस्मिक समयमा मात्र नभई अन्य अवस्थामा पनि काम गर्ने कम्पनीको भनाइ छ । यता अमेरिकाको वायरलेस नेटवर्क सञ्चालक कम्पनी टी-मोबाइलले अमेरिकाका मोबाइल प्रयोगकर्तालाई स्याटलाइट सेवा दिन एलन मस्कको कम्पनी स्पेसएक्ससँग सम्झौता गरेको छ ।

टी-मोबाइल र स्पेसएक्सले स्याटलाइट नेटवर्कको बेटा भर्सन सन् २०२३ को अन्त्यतिर सुरु गर्ने बताएका छन् । एन्ड्रोइड १४ को अपडेटमा स्याटलाइट नेटवर्कको सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ । यो नेटवर्कको स्पिड २ देखि ४ एमबीपीएस हुने बताइएको छ, जुन म्यासेज पठाउनका  लागि पर्याप्त स्पीड हो । 

स्टारलिंकले विश्वभर नै इन्टरनेट व्याण्डविथ दिन अर्बिटमा साना खालको स्याटलाइट पठाइरहेको छ । स्टारलिंकले कूल ४२ हजार स्याटलाइट अन्तरिक्षमा राख्ने लक्ष्य राखेको छ ।

हालसम्म ४७ भन्दा बढी देशमा स्टारलिङ्कको स्याटलाइट इन्टरनेट उपलब्ध छ । फाइबर इन्टरनेट नपुगेका ठाउँका लागि स्याटलाइट इन्टरनेट उपयुक्त हुन्छ । बिना कुनै तार राउटरले स्याटलाइटको सहयोगमा इन्टरनेट उपलब्ध गराउँछ । 

त्यसैले स्याटलाइट नेटवर्कलाई मोबाइल नेटवर्कसँग कसरी जोड्ने भन्ने कुरा अहिले मूल चर्चाको विषय बनेको छ । हाल स्याटलाइटको छुट्टै नेटवर्क छ । यदि भविष्यमा यसलाई सेलुलर नेटवर्कमा जोड्न सके विकट ठाउँहरूमा समेत सजिलै गुणस्तरीय सञ्चार सुविधा उपलब्ध हुनसक्छ ।

यसका लागि अहिले फाेरजी, फाइभजी सपोर्ट गर्ने मोबाइल भनेजस्तो स्याटलाइट नेटवर्क समेत सपोर्ट गर्ने फोनहरूको आवश्यकता पर्छ । त्यसैले भोलिका दिनमा सामान्य स्मार्टफोनहरू पनि स्याटलाइट नेटवर्कमा जोडिनसक्ने क्षमताका हुने सम्भावना छ ।

यस्ता मोबाइल सेट बोकेका उपभोक्ता सहरी क्षेत्रमा हुँदा सेलुलर नेटवर्कमा जोडिनेछन् भने नेटवर्क उपलब्ध नरहेका ग्रामीण क्षेत्रमा जाँदा स्याटलाइट नेटवर्कमा कनेक्ट भएर निरन्तर सञ्चार सम्पर्कमा रहने सक्नेछन् । 

अहिलेको मोबाइल नेटवर्क पृथ्वीको सतहमा भएको हुनाले यसलाई टेरेस्टोरियल नेटवर्क भन्ने गरिन्छ । अन्तरिक्षमा हुने स्याटलाइटको नेटवर्कलाई नन्-टेरेस्टोरियल नेटवर्क (NTN) भनिन्छ । स्याटलाइट पनि तीन तहमा राखिएका हुन्छन् । सबैभन्दा माथिल्लो तह ३६ हजार किलोमिटर जतिको उचाइमा हुन्छन्। यसलाई जिओ (GEO) स्याटलाइट भनिन्छ ।

यी स्याटलाइटको एउटा गुण भनेको पृथ्वीबाट हेर्दा यिनीहरू सधैँ एउटै ठाउँमा रहेको जस्तो देखिन्छन् । विशेषगरी दूरसञ्चार तथा टेलिभिजन प्रसारणका लागि जिओ स्याटलाइटको प्रयोग गरिन्छ। जिओ स्याटलाइटले पृथ्वीको सतहबाट गएको सिग्नल प्राप्त गरेर अर्कोतिर ‘रिले’ अर्थात छोड्ने वा प्रसारण गर्ने काम गर्दछ। 

त्यसभन्दा मुनि  दुई हजार किलोमिटरको उचाइमा रहने स्याटलाइटलाई मिडल अर्थ अर्बिट स्याटलाइट अर्थात् मिओ (MEO) स्याटलाइट भनिन्छ । जीपीएस सेवाका लागि मिओ स्याटलाइटको उपयोग गरिन्छ। त्यस्तै सबैभन्दा तल अर्थात् पृथ्वीबाट १६० किलोमिटरदेखि २००० किलोमिटरसम्मको उचाइमा रहेका स्याटलाइटलाई ‘लो अर्थ अर्बिट स्याटलाइट’ अर्थात् लिओ (LEO) स्याटलाइट  भनिन्छ ।

लिओ स्याटलाइटले पृथ्वीलाई परिक्रमा गर्ने गति पृथ्वीको घुम्ने गतिभन्दा कयौँ गुणा बढी हुने भएकाले यी स्याटलाइटहरू पृथ्वीबाट सधैँ एकै ठाउँमा देखिदैनन्। त्यसैले पृथ्वीमा निरन्तर सञ्चार सेवा प्रदान गर्न अनेकौं लिओ स्याटलाइटलाई समूहगत रूपमा राख्नु पर्छ ।

कुनै एउटा स्याटलाइट हामी माथिको स्थानबाट बाहिरिने बित्तिकै कनेक्सनका लागि त्यो ठाउँमा अर्को स्याटलाइट आइपुग्नुपर्छ । त्यसैले स्पेसएक्स स्टारलिङ्क, अमेजन कुपर,वनवेब, टेलिस्याट जस्ता कम्पनीहरूले अहिले लिओ स्याटलाइटहरू सयौं, हजारौं सङ्ख्यामा प्रक्षेपण गरिरहेका छन् । साथै स्याटलाइट इन्टरनेट उपलब्धसमेत गराइरहेका छन्। 

लिओ स्याटलाइट पृथ्वीबाट नजिकै हुने भएकाले धेरै शक्तिशाली सिग्नल पठाउनु पर्दैन। त्यसैले हाम्रो साधारण स्मार्टफोनहरू पनि त्यस्ता स्याटलाइटसँग सजिलै जोडिन सक्ने सम्भावना छ । आईफोन १४ को 'Emergency SOS via Satellite' फिचरलाई यसको पहिलो कदमको रुपमा हेर्न सकिन्छ। 

लिओ स्याटलाइटलाई टेरेस्ट्रोरियल नेटवर्क अर्थात् सेलुलर नेटवर्कमा जोडेर दुर्गम क्षेत्रमा पनि गुणस्तरीय सञ्चार सेवाको कभरेज पुर्‍याउने परिकल्पनासमेत भएका छन् ।

स्याटलाइटलाई सेलुलर नेटवर्क कन्ट्रोल प्रणालीमा जोड्ने प्रविधिको विकास सिक्सजीमा अनिवार्य गरिने बताइन्छ । स्याटलाइटलाई सेलुलर प्रणालीमा जोडेर बेस स्टेसनको सिग्नल कमजोर हुने बित्तिकै स्याटलाइट सिग्नलमा हस्तान्तरण हुनसक्ने प्रविधिको विकास हुँदा भूकम्प, बाढी, पहिरो जस्ता विपद्ले भू-सतही संरचनामा क्षति पुगेको बेलामा पनि स्याटलाइटका माध्यमबाट दूरसञ्चार सेवा कायम राख्न सकिन्छ । 

सुन्दा पत्याउन गाह्रो पर्ने यी कुरा अबको केही दशकमा मानिसको दैनिकीसँग जोड्न सबै पक्ष लागि परेका छन् । प्रविधिको तीव्र विकासले नै मोबाइल नेटवर्कमार्फत नै अहिले हामी फाेरजीको उपयोग गरिरहेका छौँ ।

फाइभजीको परीक्षण नेपालमा समेत सुरु भइसकेको छ । केही देशले मोबाइल प्रविधिको पछिल्लो पुस्ता फाइभजी विस्तार गरिरहँदा बजार सिक्सजीमा फड्को मार्न खोजिरहेको छ । सन् २०३० सम्म सिक्सजी सार्वजनिक हुने अनुमान छ । जससँगै स्याटलाइट मोबाइल नेटवर्कसमेत मानिसको हातहातमा पुग्ने अपेक्षा गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: चैत ४, २०७९ ९:२८