close

वेबसाइटका लामालामा लिङ्क निःशुल्क छोट्याउन उपयुक्त र सजिलो तरिका

टेकपाना टेकपाना

चैत १०, २०७९ २०:१०

वेबसाइटका लामालामा लिङ्क निःशुल्क छोट्याउन उपयुक्त र सजिलो तरिका

काठमाडौं । माइक्रोब्लगिङ तथा लामा लामा लिङ्क शेयर गर्ने क्रममा यूआरएल तथा लिङ्क छोट्याउने तरिका निकै उपयोगी हुने गर्छ । यसले सहज बनाउने तथा स्थान जोगाउने मात्र नभइ त्यस्ता लिङ्क कतिपटक खोलियो भन्ने कुरा समेत थाहा पाउन सकिन्छ ।

आज हामी तपाईंलाई केही यूआरएल तथा लिङ्क छोट्याउने टुलहरूको बारेमा बताउँदै छौं, जुन तपाईंले गुगल क्रोम तथा मोजिला फायरफक्सका लागि प्रयोग गर्न सक्नु हुनेछ । यसका साथै तपाईंले कुनै पनि ब्राउजरको साथमा प्रयोग गर्न सकिने  अनलाइन यूआरएल छोट्याउने एउटा निःशुल्क तरिका समेत थाहा पाउनु हुनेछ । 

यूआरएल छोट्याउनुका अनेकौं फाइदाहरू छन् । तर सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तपाईंले लामो एड्रेस सम्झिनुपर्ने झन्झट नै नलिई यूआरएल पठाउन सक्नु हुन्छ ।

जब यूआरएल छोट्याउने कुरा आउँछ, त्यसको एउटा बेफाइदा पनि छ । यसले खराब किसिमका वेबसाइटको बाटो लुकाइदिन सक्छ ।

यदि तपाईं सधैं एउटै ब्राउजर प्रयोग गर्नु हुन्छ भने उक्त ब्राउजरको वेब स्टोरमा जानुहोस् र यूआरएल शर्टनरको डिस्क्रिप्सन चेक गरी आफ्नो आवश्यकता सुहाउँदोलाई इन्स्टल गर्नुहोस् ।

 

गुगल क्रोम प्रयोग गरी कसरी छोट्याउने यूआरएल तथा  लिङ्क  ? 

तपाईंलाई कति पटक लिङ्क छोट्याउने आवश्यकता पर्छ र वास्तविक यूआरएल कपी गर्नुपर्छ भन्ने कुराले यूआरएल छोट्याउने सेवा कुन उपयोगी हुन्छ भन्ने निर्धारण गर्छ ।

समयको खर्चका साथै थुप्रै ट्याबहरू खोल्नुपर्ने हुँदा तपाईंको ब्राउजिङ कार्यलाई झन्झटिलो बनाउँछ । यदि तपाईं गुगल क्रोम प्रयोग गर्न रुचाउनु हुन्छ भने तपाईंले निम्न एक्सटेन्सन प्रयोग गरी यूआरएल छोट्याउन सक्नु हुन्छ । 

१. यूआरएल शर्टनर 

२. यूआरएल शर्टनर फर गुगल क्रोम 

३. यूआरएल शर्टनर एन्ड क्यूआर कोड जेनेरेटर- क्विक लिङ्क 

क्रोममा यूआरएल छोट्याउनका लागि यूआरएल शर्टनर एउटा उत्कृष्ट एक्सटेन्सन हो । 

 

कसरी प्रयोग गर्ने यूआरएल शर्टनर ? 

यदि तपाईंलाई मनपर्ने ब्राउजर क्रोम हो भने तपाईंले क्रोम वेब स्टोरबाट यूआरएल शर्टनर एक्सटेन्सन इन्स्टल  गर्न सक्नु हुन्छ । यो टुलले लिङ्कका लागि क्यूआरकोड समेत तयार पार्छ, जुन स्मार्टफोन प्रयोगकर्ताका लागि सूचना उपलब्ध गराउने गतिलो माध्यम हो ।

एकपटक तपाईंले यो एक्सटेन्सन इन्स्टल गरिसकेपछि त्यसलाई तपाईंले छरितो पहुँचका लागि टुलबारमा पिन गरेर राख्न सक्नु हुन्छ । यदि तत्काल प्रयोग गरिरहेको ट्याबको यूआरएल छोट्याउन खोजिरहनु भएको छ भने माथि दायाँतर्फ दिइएको लिङ्क आइकनमा क्लिक गर्नुपर्ने हुन्छ ।

यो एक्सटेन्सनले क्यूआर कोडको साथमा  छोट्याइएको यूआरएल लिङ्क समेत उपलब्ध गराउँछ । नयाँ लिङ्क कपी गर्न सँगै दिइएको आइकनमा क्लिक गर्नुपर्ने हुन्छ । यदि थुप्रै यूआरएल छोट्याउनु पर्ने छ भने तपाईंले एक्सटेन्सनलाई खुल्लै छोडेर कुनै पनि लिङ्क कपी गरी सबैभन्दा माथि रहेको एडिटिङ भागमा पेस्ट गर्नुपर्ने हुन्छ । 

 

मोजिला फायरफक्स प्रयोग गरी लिङ्क छोट्याउने तरिकाः 

यदि तपाईं वेब ब्राउजरको रुपमा मोजिला फायरफक्स प्रयोग गर्न रुचाउनु हुन्छ भने त्यसका लागि पनि केही एड-अनहरू उपलब्ध छन्, जसलाई तपाईंले प्रयास गर्न सक्नु हुन्छ । 

१. कपी शर्ट यूआरएल 

२. लिङ्क शर्टनर 

३. रिब्रान्ड्ली | यूआरएल शर्टनर 

यस मध्ये कपी शर्ट यूआरएल फायरफक्सका लागि एउटा उपयुक्त एक्सटेन्सन हो । 

 

कसरी प्रयोग गर्ने कपी शर्ट यूआरएल ? 

कपी शर्ट यूआरएल फायरफक्सको एउटा एक्सटेन्सन हो, जसले इजडटजीडी (is.gd), टिनियूआरएल डटकम (tinyurl.com) र बिटडटलीडट (bit.ly.) जस्ता यूआरएल छोट्याउने सेवाहरूलाई सपोर्ट गर्छ । 

जब तपाईं यो एडअनमा क्लिक गर्नुहुन्छ, त्यसले तपाईंले खोलिरहेको वेबसाइटका लागि पहिले नै बनिसकेको प्रामाणिक संक्षिप्‍त यूआरएल खोजिदिन्छ । यदि त्यसले पहिले नै छोट्याइएको लिङ्क फेला पार्न सकेन भने, नयाँ लिङ्क तयार पारिदिन्छ । 

छोट्याइएको लिङ्क तपाईंको क्लिपबोर्डमा कपी भएर बस्छ र स्क्रिनको तल दायाँ कुनामा समेत कपी शर्ट यूआरएल देखिएर बस्छ । 

यदि तपाईं यो एक्सटेन्सनलाई आफ्नो टुलबारमा राख्न चाहनु हुन्छ भने फायरफक्स मेनु खोल्नुहोस्, त्यसपछि मोर टुलमा जानुहोस् । अनि कस्टमाइज टुलबारमा गएर कपी शर्ट यूआरएल आइकनलाई ड्र्याग (तानेर) नयाँ ठाउँमा ल्याउनु होस् । 

 

जुनसुकै ब्राउजरमा काम गर्ने तरिकाः 

यदि तपाईं क्रोम वा फायरफक्स प्रयोग गर्नु हुन्न अथवा पेशागत तथा निजी कामका लागि ब्राउजरहरू परिवर्तन गरिरहनु हुन्छ भने तपाईंले बिट्ली प्रयोग गर्न सक्नु हुन्छ ।

कुनै अकाउन्ट नबनाएरै तपाईंले यो निःशुल्क अनलाइन टुल प्रयोग गर्न सक्नु हुन्छ । यद्यपि तपाईं कति मानिसले उक्त लिङ्कमा क्लिक गरे भन्ने कुरा थाहा पाउन चाहनु हुन्छ भने त्यसका लागि चाहिँ अकाउन्ट बनाउनु पर्ने हुन्छ । 


 

पछिल्लो अध्यावधिक: चैत १०, २०७९ २०:११