काठमाडौँ । कक्षा १२ को परीक्षामा मोबाइल, स्मार्टवाचजस्ता विद्युतीय सामग्रीहरूको प्रयोग गर्ने विद्यार्थीको परीक्षा रद्द गरिएको छ । विद्युतीय सामग्री लैजान प्रतिबन्ध हुँदा पनि लिएर जाने विद्यार्थीहरूबाट मोबाइल जफत गरेर परीक्षा रद्द गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले बताए ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा हलमा इलेक्ट्रोनिक्स डिभाइसहरू लैजान पूर्ण रूपमा निषेधित गरेको भनेर कक्षा १२ को परीक्षा सुरु हुनुभन्दा पहिले नै जानकारी गराएको थियो ।
निर्देशन अटेर गरेर मोबाइल लैजाने विद्यार्थीको परीक्षा रद्द गरिएको हो । यस्तै, बाँकी परीक्षामा मर्यादा विपरीत विद्युतीय सामाग्री नलैजान समेत उनले विद्यार्थीसँग आग्रह गरेका छन् । यदि परीक्षामा मोबाइलको प्रयोग गरेको पाइएमा सम्पूर्ण विषयको परीक्षा रद्द हुने भएकाले यस्तो काम नगर्न अनुरोध गरेका हुन् ।
यस्तै, बिहीबार काठमाडौँको सुकेधारास्थित साइपल एकेडेमी मा वि. कक्षा १२ को परीक्षा सञ्चालन गर्दा मर्यादा विपरीत कार्य गरेको पाइएपछि उक्त विद्यालयको परीक्षा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षलाई निष्काशन गरेर नयाँ केन्द्राध्यक्ष तोकिएको परीक्षा नियन्त्रक शर्माले बताए । "उहाँहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेका छौँ ," उनले भने ।