काठमाडौं । इन्टरनेट बिनै डिजिटल भुक्तानी गर्न सकिने नेपाली उत्पादन ‘सयपत्री’ सेवा विस्तारका लागि लगानी जुटाउन थालेको छ । कम्पनीले आरएफआईडी प्रविधिमा आधारित पीआईएस डिभाइस बनाउन लगानी खोज्न थालेको हो ।
हाल सयपत्रीले डिभाइसका लागि थुप्रै अर्डर आइरहेको बताएको छ । “रिसोर्ट, होटेल, किराना पसल, शपिङ मल आदिबाट अर्डर आइरहेको भएपनि कम्पनीले यस्ता अर्डरलाई थाती राखेको छ,” कम्पनीका संस्थापक सुवास शाहीले भने ।
प्रयोगकर्ताको माग बढिरहेको भए पनि कम्पनी डिभाइस तत्कालै उपलब्ध गराउन सक्ने अवस्थामा भने छैन । यसैका लागि शाही लगानीकर्ता खोज्न थालेका हुन् ।
"हामीले यो प्रणालीका लागि अनुसन्धान, बजार अध्ययन र विकासमा एक करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेका छौं,” उनले भने, “यो डिभाइस देशभरका प्रयोगकर्तामाझ पुर्याउन हामीलाई करिब १७ करोड रुपैयाँ लगानी आवश्यक छ ।"
बजारमा राम्रो, भरपर्दो र उपयोगी प्रोडक्ट लिएर जाने चाहनाले हतार नगरी आफूहरू अहिले यो सिस्टमलाई पूर्णता दिने कार्यमा केन्द्रित रहेको शाहीले बताए ।
सयपत्री आरएफआईडी प्रविधिमा आधारित भुक्तानी प्रणाली हो । "हामीले तयार पारेको पीआईएस आरएफआईडी डिभाइसले रेडियो सिग्नल फाल्छ । अनि ग्राहकसँग हुने कार्डमा एनएफसी रिडर हुन्छ । ती दुवै माध्यमबीचको कनेक्सनमार्फत भुक्तानी हुन्छ," शाहीले भने ।
सयपत्रीले अफलाइन कारोबारका लागि सयपत्री आरएफआईडी पीआईएस मसिन र कार्ड उपलब्ध गराउँछ । भुक्तानी लिने पसल, गाडी वा अन्य स्थानमा उक्त मसिन हुन्छ भने ग्राहकहरूसँग एटीएम जस्तै देखिने सयपत्री कार्ड हुन्छ ।
मसिनमा वाईफाई तथा ब्लुटुथ कनेक्सन जस्ता फिचर हुन्छन् । जसले सयपत्रीको मोबाइल एपसँग सम्पर्क बनाउँछ । एप प्रयोग गरी डिभाइसबाट कार्डमा पैसा लोड गर्न र कार्डबाट पैसा झिक्न सकिन्छ ।
भुक्तानी लिने ठाउँमा हुने सानो मसिनमा ग्राहकसँग भएको कार्ड छुवाउने बित्तिकै भुक्तानी सम्पन्न हुन्छ । सो डिभाइस पहिले नै मोबाइल एपसँग ब्लुटुथमार्फत जोडिएको हुन्छ । जहाँबाट पसलेले कति रुपैयाँ भुक्तानी लिने भन्ने कुरा निर्धारण गर्छन् । त्यसपछि प्रयोगकर्ताले कार्ड स्क्यान गर्नासाथ रकम पसलेको सयपत्री वालेटमा आइपुग्छ ।
यस्ता डिभाइस र कार्डमा आफ्नो बैंक अकाउण्टबाट रकम लोड गर्न सकिन्छ । साथै पसलले पनि ग्राहकको कार्डमा पैसा लोड गर्न सक्छन् । यसरी सिममा रिचार्ज गरे जस्तै गरी प्रयोगकर्ताले आफ्नो कार्ड रिचार्ज गर्न सक्छन् ।
कम्पनीका अनुसार उक्त डिभाइसमा जीएसएम मोबाइल सिमले समेत काम गर्छ । अर्थात् उक्त मसिनमा सिमकार्ड राखेर पनि प्रयोग गर्न सकिन्छ । यसरी डेटाको माध्यमबाट भुक्तानी लिन मिल्छ ।
डिभाइसमा लिथियम आयन ब्याट्री राखिएको छ । जसले कम्तिमा पाँच घण्टासम्म अन्य कुनै विद्युत प्रणाली नहुँदा पनि भुक्तानी सम्भव बनाउने कम्पनीको दाबी छ ।
यदि ग्राहकसँग भएको सयपत्री कार्ड हराएको खण्डमा त्यसलाई मोबाइल एपबाटै ब्लक गर्न सकिने सुविधा पनि रहेको छ ।
यो प्रोटोटाइप डिभाइसको निर्माण लागत करिब तीन हजार ५०० रुपैयाँ रहेको कम्पनीले बताएको छ ।
सयपत्रीमा यसरी जोडिनेछन् ग्राहक
कम्पनीले मचेन्टलाई सयपत्री डिभाइस र प्रयोगकर्तालाई कार्ड वितरण गर्नेछ । प्रयोगकर्ताले विभिन्न पसलबाट यस्ता कार्ड खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यस्ता कार्ड सजिलै मोबाइल एप्लिकेसनसँग जोड्न सकिन्छ । त्यसपछि भुक्तानीको काम हुन्छ ।
उक्त कार्डमा जुनसुकै बैंकबाट पनि रकम लोड गर्न सकिन्छ । "सहरमा बसेको छोरा वा छोरीले गाउँमा भएका आमा बुबाको कार्डमा आफ्नो बैंकबाट ब्यालेन्स लोड गरिदिन सक्छन् । यसबाट घरमा कति रकम पठाइयो, कुनकुन काममा कति खर्च भयो भन्ने हिसाब राख्न पनि सजिलो हुन्छ," शाही थप्छन् ।
मोबाइल एप प्रयोग गर्न समस्या हुने वा इन्टरनेट नभएको स्थानमा समेत यो सेवा प्रयोग गर्न सकिने उनको दाबी छ ।
तर हरेक मर्चेन्टलाई निःशुल्क डिभाइस उपलब्ध गराउनु कम्पनीका लागि अबको ठूलो चुनौती हो । किन भने त्यसका लागि ठूलो लगानी आवश्यक छ ।
स-साना गाउँदेखि सहरसम्म इन्टरनेटबिनै गर्न सकिने भुक्तानीका लागि सुवास विभिन्न परियोजनामा काम गरिरहेका छन् ।
साक्षर, निरक्षर सबै माझ सयपत्रीको सेवा पुर्याउने सुवासको सपना छ । "डिजिटल भुक्तानी हरेक नेपालीको पहुँचमा होस् भन्ने मेरो चाहना हो । देशको भौगोलिक तथा आर्थिक अवस्थाले गर्दा तत्कालै इन्टरनेटबाट हुने भुक्तानी सबैमाझ पुग्न सक्ने अवस्था छैन । त्यसैले अबको दश वर्षसम्म पनि इन्टरनेट बिना गर्न सकिने भुक्तानीको आवश्यकता छ," उनी भन्छन् ।
पीआईएस आरएफआईडी डिभाइस स्वदेशमै बनाउने योजना
अफलाइन भुक्तानीका लागि आवश्यक पर्ने डिभाइस विदेशबाट नल्याएर नेपालकै स्रोत साधन र जनशक्ति प्रयोग गरेर निर्माण गर्ने कम्पनीको योजना छ ।
देशमा मात्र नभएर दक्षिण एसियाका विभिन्न देश तथा अविकसित देशहरूमा यो सेवा विस्तार गर्ने सुवासको सपना छ । “विशेषगरी भारत, बङ्गलादेश, पाकिस्तान, लाओस, भियतनाम सम्म पुग्न सकिन्छ कि भन्ने छ," उनी भन्छन् ।
नेपालको बजार सानो छ । लगानी धेरै भए थोरै प्रयोगकर्ताबाट त्यो रकम उठाउन सम्भव हुँदैन । “त्यसकारण हामी अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने योजना बनाइरहेका छौं," उनी अगाडि भन्छन्, "नेपालमा सेवा विस्तार गरिसकेपछि हामी बाहिरी देशमा समेत सेवा लिएर जान्छौं ।"
कम्पनीले देशभरका प्रयोगकर्ताका लागि सयपत्रीको सेवा कहिले देखि उपलब्ध हुन्छ भन्ने कुरा स्पष्ट रुपमा सार्वजनिक गरेको छैन ।