close

यूपीआईबाट हुने कारोबारमा लाग्न थाल्यो शुल्क

टेकपाना टेकपाना

चैत २०, २०७९ १२:१०

यूपीआईबाट हुने कारोबारमा लाग्न थाल्यो शुल्क

काठमाडौं । भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) ले आफ्नो सिस्टमबाट हुने कारोबारमा शुल्क लिन थालेको छ । यूपीआई भारत सरकारको लगानीमा सञ्चालित पेमेन्ट गेटवे हो । एक बैंकबाट अर्को बैंक तथा बैंकबाट वालेटमा हुने कारोबारको माध्यमका रुपमा यूपीआईको प्रयोग हुने गरेको छ ।

यस्तोमा भारतमा यूपीआई प्रयोग गर्नेको संख्या लाखौंमा रहेका छन् । यसैको नेटवर्कमा पेटीएम, गुगल पे, फोनपेजस्ता डिजिटल वालेटले समेत काम गर्दै आएका छन् । सुरुवाती चरणमा सरकारले डिजिटल कारोबारलाई विस्तार गर्ने योजनाका साथ यसलाई नि:शुल्क बनाएको थियो ।

तर, बढ्दो प्रयोगकर्ता र यस नेटवर्क सञ्चालनमा लाग्ने खर्चको व्यवस्थापनका लागि भन्दै भारतको नेसनल पेमेन्ट कर्पोरेसनले सूचना जारी गर्दै शुल्क लाग्ने विषयमा जानकारी गराएको हो ।

योसँगै इन्टरचेन्ज (बैंक तथा मर्चेन्टबीच हुने कारोबार) तथा वालेट अन्तरसञ्चालन (इन्टरअप्रेबिलिटी) मा शुल्क लाग्ने थालेको छ । नयाँ व्यवस्थाअनुसार मर्चेन्टबाट हुने दुई हजारभन्दा माथिको कारोबारमा शुल्क लाग्नेछ ।

यसको अर्थ वालेट प्रयोगकर्ताले भुक्तानी गरे बापतको शुल्क भने बुझाउनु पर्नेछैन । यूपीआईमा जोडिएका मर्चेन्टहरूका लागि यो शुल्क लाग्ने हुँदा ग्राहकमा कुनै असर नपर्ने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: चैत २०, २०७९ १२:१६