काठमाडौं । डिजिटल वालेट सुलभ पे प्रालिको 'एन क्याश' मोबाइल वालेट फोनपे नेटवर्कमा जोडिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सुलभ पे प्रालि र फोनपेबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो ।
यससँगै एनक्याश वालेटबाट फोनपे नेटवर्कको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । सुलभ पे प्रालिका प्रमुख कार्यकारी अधिकृत शमल बुढाथोकीले एनक्याश फोनपे, नेपाल पे र स्मार्ट क्यूआर एकीकृत गर्ने पहिलो मोबाइल वालेट भएको दाबी गरेका छन् ।
"डिजिटल वालेट अहिलेसम्म इन्टरनेट शुल्क भुक्तानी गर्ने, टपअप गर्ने वा अन्य भुक्तानी गर्ने प्लेटफर्मका रूपमा मात्र लिइएको छ," उनले भने, "फोन पे लगायत एनक्याशमार्फत उपलब्ध गराइएका अन्य क्यूआर प्लेटफर्मले नेपालमा मानिसहरूले भुक्तानी गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउनेछ । यसलाई पहिलेभन्दा छिटो, सजिलो र सुरक्षित बनाउँदै लैजाने कार्यमा हामी केन्द्रित छौं ।"
तीन चरणमा भुक्तानी सम्पन्न हुने
एन क्याशमार्फत एपबाट तीन चरणमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ ।
- त्यसका लागि सबैभन्दा पहिले एन क्याशको एप डाउनलोड गर्नुहोस् ।
- एपमा आफ्नो विवरण राखेर दर्ता गर्नुहोस् ।
- यति गरेपछि होमपेजमा केही बेर ट्याप गर्नुहोस् ।
- अनि तल रहेको विजेट अप्सनमा ट्याप गर्नुहोस् ।
- त्यसपछि एन क्याश एपको विजेट छान्नुहोस् ।
- उक्त विजेट ओपन गर्नुहोस् । त्यसपछि स्क्यान गरी नेपाल पे, स्मार्ट क्युआर वा फोनपेको क्यूआरमा भुक्तानी गर्न सक्नुहुन्छ ।